अस्ति भर्खर हाम्रा विकाशहरू बाढीले बगाइदिएका थिए । तर अहिले ती बगेका विकास अर्थात् सडक र पुलहरू धमाधम मर्मत हुन थालेका छन् । बेस्सरी पानी के परेको थियो, विकासका मूल चारैतिर फुटिरहेका छन् । धरहरा पनि खुल्यो । कहाँ कहाँबाट विकासका मूल फुटेछन् त भनेर थाहा पाउनु छ भने बरु जानोस् न भ्यूटावरहरूबाट हेर्नुस् । तर तपाईं भने ‘समृद्धि कसरी हासिल गर्ने’ किताब पढ्नमै व्यस्त छन् बा !
अब कहाँ आयो विकास भनेर नसोध्नु होला । देख्नुभएन अर्बौं रुपियाँ खर्च गरेर सत्ताधारी दलले आफ्नै भवन बनाउन शिलान्यास गरेको ? दलको कार्यालय खोलाले डुबाएका कारण अब चैं कुन हो डाँडामा बन्ने भएछ । एउटा दलको अफिस पेरिस डाँडा भएपछि अर्को दल लन्डनडाँडा त होला । दलको कार्यालय मात्र खोलाले डुबाएको हो, उसको विचार होइन नि । विचार डुबाएको भए तुरुन्तै अर्बौंको भवन कसरी शिलान्यास हुन्थ्यो र ?
कतिपयले दलको कार्यालय बनाउन व्यापारीको सहयोग लियो भनेर खोइरो खनेका छन् । योग मिलेर संयोगले त्यस्तो देखिएको हो । तर प्रयोग र उपयोगको वियोगतिर चासो किन ? सहयोग लिनुको मतलब यो होइन कि दल नै व्यापारी भयो । अब व्यापारी दलको हो कि दल चाहिँ व्यापारीको हो भनेर टाउको नदुखाउनुस् । किनकि तपाईंले टाउकै फुटाए पनि यसको जवाफ पाउन सक्नुहुन्न । समय वा युगको पनि ख्याल राख्नुपर्छ नि, विशेषगरी उनीहरूले, जो सर्वहारा वर्गका हुन् । अगाडि हेर्नुहोस्, पछाडि जानुहोस् । एक कदम अघि बढ्नुहोस्, दुई कदम पछि हट्नुहोस् । माक्र्स लेनिनको पनि त यही नीति हो, यही मन्त्र हो । यसैमा त लुकेको छ विकासको नयाँ मोडल । दल चलाउँदै गर्दा यस्ता कुरा सिक्दै जानुपर्छ । यो सबैभन्दा ठूलो कला हो । यस्तो कलालाई माया गर्नु भनेकै देशलाई माया गर्नु हो । खै कुरा बुझेको ?
सत्तासीन दलका महान् नेताहरूले देशलाई एउटा नयाँ प्रणाली दिन लागिरहेका छन् । त्यस्तो नयाँ प्रणालीमा कर्मचारी, सेना, न्यायाधीश, मन्त्री सबैको धेरै मुद्दाहरूमा एकैमत हुन्छ । त्यसैले सत्ताभित्रका अरु दलहरूले व्यापारीको सहयोग लिने कुराको विरोध गरेका छैनन् । ठूलो विपक्षी दलले पनि विरोधको चुँ गरेका छैनन् । किनकि यहाँ प्रत्येक दलहरूले व्यापारीहरूको सहयोग लिएकै छन् र लिएनन् भने उनीहरूले दल चलाउने कसरी ? जनताले यो कुरा समयमै बुझ्नुपर्छ । किनकि नयाँ लोकतन्त्रमा विपक्षी भन्ने हुनु हुँदैन । विपक्षी दलले यो कुरालाई पूरै आत्मसात् गरेको छ । हुन पनि विपक्षीको के आवश्यकता छ र यहाँ ? आखिरमा यहाँ सबै एकै हुन् । यो फजुलको खर्च र बेकारको रस्साकस्सी किन र केका लागि ?
अहिले कसैकसैले सदनमा सशक्त विपक्षी भएनन् भनिरहेका छन् । तर त्यसको आवश्यकता नै हो भने संसद्को शोभाका लागि विपक्षीको कुर्सीमा पुत्लाहरू राखिदिन सक्छौं, चीन, उत्तर कोरिया वा रसियामा जस्तो । त्यसपछि संसद्मा बहसको ठाउँमा भजन–कीर्तन हुनेछ र देशमा दिव्य ऊर्जा वहनेछ । जसरी बसमा सबै आफ्नै पक्षका भए, यात्रा कति सुखद र सुरक्षित हुन्छ, त्यसरी नै संसद्मा सबै आफ्नै पक्षका हुँदा सरकार पनि सुरक्षित रहन्छ ।
अहिले देशमा सारा भ्रष्टाचार चुनावकै कारणले हुने गरेको छ । तर विपक्षी छैन भने चुनावको झन्झट समाप्त हुन्छ । कसलाई भोट दिने, कसलाई नदिने भन्ने तनावबाट जनतालाई पनि मुक्ति मिल्नेछ । देश बलियो हातमा छ भनेर मिडियाहरूबाट सबैलाई थाहा भइसकेकै छ । सरकारका लागि कुनै आफ्नो वा पराई भन्ने हुँदैन नि । जुन जुन कुनाबाट पैसा आए पनि बचेको पैसाबाट अहिले तेल पछि रेल किन्नमा खर्च हुनेछ, जसले विकासलाई अझै गति दिनेछ ।
हो, यो कुरा हामीलाई थाहा छ कि विपक्षी भयो भने उसको बहकाउमा आएर तपाईंहरूले महँगीको गुनासो गर्न थाल्नुहुन्छ । तपाईंहरू आफू सोच्नुहुन्न, विपक्षीको कुरा सत्य मान्न थाल्नहुन्छ । वास्तवमा महँगी भनेको विकासको थर्मामीटर हो । महँगीले के देखाउँछ भने मानिशहरूको खरीद गर्ने क्षमता कति बढेको छ । गरीबले पनि किनिरहेका छन्, खाइरहेका छन् । अनि के चाहियो त ? महँगी भनेको केवल विपक्षीहरू र केही विरोधी मिडियाहरूको नारा हो । उनीहरूले लाज मान्नुपर्छ । जनता भजन–भण्डारमा मस्त छन् । अनि विपक्षीहरू भए भने छाती पिटेर त्यसको आनन्दमा बाधा उत्पन्न गर्न थाल्छन् । बेरोजगारीको नाम लिन्छन् र समाजमा डर फैलाउँछन् ।
अहिले विपक्षीहरूबाहेक अरू कोही बेरोजगार छन् र ? अहिले त सबैको हातमा डेटा छ, सबै काममा व्यस्त छन् । कसैसँग एक मिनेटको समय छैन, तपाईं बोलाएर त हेर्नुस् । टाउको समेत उठाएर हेर्न फुर्सद छैन । यसको मतलव सबै रोजगार छन् । बेरोजगारी भएको भए, मान्छेहरू आन्दोलन गर्थे, नारा लगाउँथे, कालो झण्डा देखाउँथे । तर अहिले सबै मस्त छन् । अहिले त कसैलाई कुनै गुनासो नै छैन ।
हेर्नुस् त सरकारले हरेक प्रदेशमा विश्वविद्यालयहरू खोलेको छ । हरेक जिल्लामा थुप्रै कलेजहरू खुलाएको छ । सरकारले डिग्रीको महत्त्व बुझेको छ । रोजगारीभन्दा इज्जत जोगाउन डिग्रीको महत्त्व हुन्छ । हरेक वर्ष सबैलाई डिग्री दिइनेछ, एक होइन, थुप्रै थान दिइनेछ । भरिपूर्ण लिनुहोस् । विदेशी कलेजहरूमा पेश गर्न काम लाग्छ ।
अनि तपाईंलाई अझ तलसम्मको विकास चाहिएको छ ? केही वर्षअघिसम्म पनि मानिशहरू स–साना काम गर्न लजाउँथे, अहिले सबै काममा मस्त छन् । बजार जाँदा हेर्नुस्, सबै डिग्रीधारी भेट्नुहुन्छ तरकारीवालादेखि चियावाला वा चौकीदारवाला, पानीपूरीवालादेखि पठाओ टुटल–फुटलवाला ।
हिजोआज त प्रत्येक वडावडासम्म बाटाघाटा पुगेकै छन् । मुखमा लाउने जाउलो र ताउलोमा सितो नभए पनि मिनरल वाटरका बोतलदेखि, बियर, मदिरा, कोकाकोला, चाउचाउ, कुरकुरे, बिस्कुटदेखि बहुराष्ट्रिय कम्पनीका हरेक वस्तु दुर्गमदेखि सुगमसम्म सबैतिर पुगिसकेका छन् । अझ आकाशमार्गबाट टेलिभिजनहरूका माध्यमबाट हिन्दी गीतहरू ‘चोलिके पिछे क्या है, चुनरीके निचे क्या है’ देखि जन्मदिनमा केक काट्ने संस्कृतिको विकास पनि सँगसँगै गाउँगाउँमा पुगिसकेकै छ । अम्बानीका छोराको विवाहलाई माथ गर्ने खालका विवाह, मेहेन्दी कार्यक्रम त यहाँ कति हुन थाले कत्ति ? यसैलाई त भन्छन् सच्चा विकास ! अब योभन्दा अरु कस्तो विकास चाहिएको छ र ? देशमा यत्रो विकास हुँदा पनि नदेख्ने हो भने विदेश जानका लागि बाटो खुला छ त । विदेश जान चाहनेका लागि सजिलो होस् भनेरै त सरकारले जिल्ला जिल्लाबाटै राहदानी बाँडिरहेको छ । कुनै दिन सरकारले प्लेनको टिकट नि:शुल्क दिने योजना बजेटबाटै ल्याउन बेर छैन । बरु त्यसका लागि तपाईं तयार भएर बस्नुहोस् ।