काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ३४ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म १ अर्ब ८६ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको बैंकले गत वर्ष करिब २८ प्रतिशत कम खुद नाफा गरेको हो ।
अघिल्लो वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेको कारण सञ्चालन नाफासँगै खुद नाफा समेत घट्न पुगेको हो । अघिल्लो वर्ष ५ अर्ब ८२ करोड रूपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गरेको बैंकले गत वर्ष ५ अर्ब ६८ करोड रूपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गरेको हो । त्यस्तै अघिल्लो वर्ष १ अर्ब २१ करोड रूपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज रकम गत वर्ष १ अर्ब ७६ करोड रूपैयाँभन्दा बडी भएको हो । जसको कारण सञ्चालन नाफा अघिल्लो वर्ष २ अर्ब ५७ करोड रूपैयाँभन्दा बढी रहेकोमा गत वर्ष २ अर्ब ७ करोड रूपैयाँ मात्र भएको हो ।
गत वर्षको चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने ६१ करोड ६१ लाख रूपैयाँभन्दा बढी रहेको छ । १४ अर्ब २० करोड ९ लाख ७४ हजार चुक्तापूँजी रहेको बैंकको रिटर्न अर्निग ६१ करोड ६१ लाख रूपैयाँभन्दा बढी छ । जगेडा कोष रकम ६ अर्ब ७४ करोड रूपैयाँभन्दा बढी रहेको वित्तीय विवरणमा उल्लेख छ ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष १२ प्रतिशत बढी निक्षेप संकलन गरेको बैंकले ९ दशमलव ६५ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । बैंकले गत वर्षको चौथो त्रैमाससम्म १ खर्ब ८९ अर्ब २१ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको हो । भने, १ खर्ब ५३ अर्ब ३२ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो । अघिल्लो वर्ष ३ दशमलव ९९ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष बढेर ४ दशमलव शून्य ७ प्रतिशत पुगेको छ । चौथो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी ९ रूपैयाँ ४५ पैसा र प्रतिशेयर नेटवर्थ १५१ रूपैयाँ ८१ पैसा छ ।