१ करोडको लागतमा कृषि बजार खोल्दै रोयल सहकारी
वैशाख ११, काठमाडौं । रोयल सहकारीले रू. १ करोडको लगानीमा महाराजगञ्ज क्षेत्रमा कृषि सहकारी बजार स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्षभित्र बजार सञ्चालनमा आइसक्ने संस्थाका प्रबन्ध निर्देशक सीताराम काफ्लेले बताए । उनले भने, ‘कृषकहरूको उत्पादनलाई सीधै उपभोक्तासम्म पुर्याउन यो बजारले सहयोग गर्नेछ ।’ यसका लागि आफूहरूले केन्द्रीय उपभोक्ता सहकारी सङ्घसँग सहकार्य गर्ने काफ्लेले जानकारी दिए ।
संस्थाका अनुसार सो बजार १० रोपनी जग्गामा निर्माण हुनेछ । ‘छुट्टै बजार व्यवस्थापक समिति बनाएर बजारको व्यवस्थापन गर्नेछौं,’ काफ्लेले भने, ‘यो पाइलट प्रोजेक्ट सफल भएमा अन्य स्थानमा पनि बजार विस्तार गर्ने योजना छ ।’ सन् २०१० मा जापान, अमेरिकालगायत मुलुकबाट अन्तरराष्ट्रिय सहकारी महासङ्घमार्फत तालीम लिएपछि यस्तो सोच आएको उनको भनाइ छ । सन् १९९८ देखि नेपालबाट तालीममा प्रतिनिधिहरू सहभागी भइरहे पनि सिकेको कुरा कसैले कार्यान्वयन नगरेको काफ्ले बताउँछन् ।
यसबाहेक चक्रपथभित्रै ५ करोड रुपैयाँको लगानीमा बहुउद्देश्यीय भवनसमेत निर्माण गर्न लागेको संस्थाले जानकारी दिएको छ । आगामी २ वर्षभित्र सो भवन तयार भइसक्ने बताइएको छ । बजार र भवन दुवैका पसल कबलमा आफ्नै सदस्यहरूलाई प्राथमिकता दिने काफ्लेले अभियानलाई बताए । उनले भने, ‘भवन निर्माणका लागि अहिले प्राविधिकहरूसँग कुरा भइरहेको छ ।’ यसैबीच, गत आइतवार रोयलले १५औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सो अवसरमा संस्थाद्वारा प्रस्तुत प्रतिवेदन अनुसार हालसम्म संस्थामा रू. १५ करोड निक्षेप सङ्कलन भएको छ । त्यसैगरी, संस्थाको कुल कर्जा लगानी रू. १३ करोड र शेयर पूँजी साढे दुई करोड रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.