फागुन ९, दमौली (अस) ।
नेपालको आर्थिक विकासका लागि भारतसँगको आर्थिक सहकार्र्यलाई अझ वृद्धि गरिनुपर्नेमा तनहुँको दमौलीमा बुधवार आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
नेपाल–भारत मानव विकास एवम् मैत्री सङ्घ तनहुँद्वारा आयोजित ‘नेपाल र भारतबीचको आर्थिक विकासमा साझा अवधारणा’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले दुवै देशबीच शताब्दीयौंदेखिको सम्बन्ध भएको भन्दै यसलाई दुवै मुलुकको साझा हितमा उपयोग गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपालस्थित भारतीय राजदूतावासका डेपुटी चिफ अफ मिशन जयदीप मजुमदारले भारतले धेरै आर्थिक प्रगति गरिसकेको बताउँदै नेपालको आर्थिक विकासमा सहयोग गर्न तत्पर रहेको बताए ।
उनले नेपालको जुनसुकै भागको उत्पादन भारत लैजान छूट भएको उल्लेख गर्दै उनले दुई देशबीचको खुला सिमाना पनि व्यापारिक हितमा उपयोग गर्न सुझाव दिए ।
कार्यक्रममा पूर्वराज्यमन्त्री अमरराज कैनीले नेपाल र भारतबीच भौगोलिक मात्र नभै धार्मिक, सांस्कृतिक दृष्टिबाट समेत निकटता रहेको बताए । उनले एउटाले विकास गर्दा अर्कोलाई फाइदा हुनेगरी गर्नुपर्ने बताए ।
नेपाल भारत मैत्री सङ्घका केन्द्रीय अध्यक्ष सूर्य भुसालले नेपालले भारतसँगको सम्बन्धबाट बढी फाइदा लिन ध्यान दिनुपर्नेमा जोड दिए । नेपालमा भारतका चलचित्र चलेजस्तै नेपालका चलचित्रलाई पनि भारतमा चल्ने वातावरण सृजना गरेर लाभ लिन सक्नुपर्ने उनले बताए । । कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका प्रमुख वैकुण्ठ न्यौपाने, तनहुँ उद्योग वाणिज्य सङ्घ अध्यक्ष देवकुमार श्रेष्ठ, नेपाल भूपू सैनिक सङ्घ अध्यक्ष धनबहादुर शाही, सङ्घका जिल्ला अध्यक्ष अशोककुमार श्रेष्ठ, उपाध्यक्ष सरिता गुरुङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।