भाचोकमा सहकारी जागरण अभियान
वैशाख २५, काठमाडौं (अस) । अन्तरराष्ट्रिय सहकारी वर्ष २०१२, कास्की जिल्ला कार्यान्वयन समितिले भाचोक गाविसको मकैबारीमा एकदिने सहकारी जागरण अभियान सम्पन्न गरेको छ । उक्त स्थानमा सहकारी स्थापना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समितिले जानकारी दिएको छ ।
जिल्ला कार्यान्वयन समितिका सदस्यसचिव एवं सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका प्राचार्य चन्द्रबहादुर ठकुरीले भाचोकमा हालसम्म सहकारी नभएकाले जागरुक गराउन गाउँमै आएर अभियान थालेको बताए । ‘स्थानीय स्रोतसाधन परिचालन गराउन गाउँ स्तरबाटै जागरण शुरू गर्नुपर्छ,’ उनले भने, ‘ग्रामीण जनतालाई आत्मनिर्भर बनाउन सहकारी उपयुक्त माध्यम हो ।’
ग्रामीण जनतामा सहकारीको सेवा पुर्याउन अभियान सञ्चालन गरिएको कास्की बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष एवं जिल्ला कार्यान्वयन समिति प्रचारप्रसार संयोजक भीम गुरुङको तर्क छ । उनले भने, ‘स्थानीय स्तरमा उपयोगी हुने किसिमको सहकारी गठन गर्न आवश्यक छ ।’ कार्यक्रममा जिल्ला कृषि सहकारी सङ्घका अध्यक्ष शिवजी कोइरालाले स्थानीय स्तरमा रहेको क्षमतालाई सही रूपमा प्रयोग गर्न कृषि सहकारी सञ्चालन गर्न सुझाव दिए ।
आइतवार सम्पन्न सहकारी जागरण अभियानमा करीब ६० जना स्थानीय बासिन्दाको उपस्थिति रहेको समितिले जानकारी दिएको छ । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका शाखा अधिकृत बालकृष्ण सुवेदी, सहकारी प्रशिक्षक ईश्वरी ढकाल, जिल्ला सहकारी सङ्घका उपाध्यक्ष रविरमण तिवारी, कास्की बचत तथा ऋण सहकारी सङ्घका सचिव हरिभक्त पौडेललगायतले प्रशिक्षण दिएका थिए । कार्यक्रममा पूर्व जिल्ला विकास सदस्य जसबहादुर गुरुड र समन्तराज सुवेदीले स्थानीय स्तरका समस्या र सहकारी सञ्चालनसम्बन्धी भएको प्रगतिबारे विविध जानकारी गराएका थिए । हाल कास्की जिल्लाभर करिब ४ सय २५ सहकारी संस्था सञ्चालनमा छन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.