भदौ ११, दाङ (अस) । नमस्ते बचत तथा ऋण सहकारी संस्था दाङले गरेको एलोभेरा खेती फस्टाउँदै गएको छ । करीब एक बिगाहा जग्गामा गरिएको सो एलोभेरा खेती जिल्लामै पहिलो हो ।
एक वर्षअघि रोपिएका करीब ५ हजार एलोभेराका बिरुवा अहिले हुर्किसकेको संस्थाले जानकारी दिएको छ । शुरूमा रू. २ लाख ५० हजार खर्च भएको संस्थाका सचिव सुवास गौतमले जानकारी दिए । पहिलोपटक रोप्दा ३ महीनाभित्रै यसले उत्पादन दिने अपेक्षा गरिएको थियो । तर पनि विभिन्न प्राविधिक समस्याका कारण उत्पादनमा केही ढिलाइ भएको उनको भनाइ छ ।
संस्थाका अनुसार प्रतिबिरुवा ४० रुपैयाँ पर्ने एलोभेरा मलेसियाबाट आयात गरिएको हो । एलोभेरा खेती जिल्लामै पहिलो भएकाले यसको स्याहारमा केही कमी आएको संस्थाका अध्यक्ष अञ्जनकुमार पौडेलले स्वीकारे । उत्पादित एलोभेराका बिरुवा राप्ति अञ्चलका पाँचओटै जिल्लामा आपूर्ति गर्ने संस्थाको लक्ष्य छ । एउटा एलोभेराको बोटबाट वार्षिक २० ओटा नयाँ बिरुवा उत्पादन गर्न सकिने विज्ञहरू बताउँछन् । एलोभेरा खेतीले दाङसहित राप्ती अञ्चलका अन्य जिल्लाका कृषकलाई जडीबुटीको व्यावसायिक खेतीप्रति आकर्षण बढाउने पौडेलले दाबी गरे । ‘यसले जिल्लाहरूको आयस्रोतमा समेत वृद्धि हुनेछ,’ उनले भने ।
प्रतिकेजी २० रुपैयाँ बजार मूल्य रहेको एलोभेराको जुस औषधि र सौन्दर्य सामग्री बनाउन प्रयोग गरिन्छ । अहिले नेपालमा चितवनमा रहेको पाम एग्रोटेक एण्ड बायो–इनर्जी कम्पनीले मात्र एलोभेरा प्रशोधन गर्दै आएको छ । यहाँ उत्पादित एलोभेराको रस भारतको राजस्थान र मलेसियालगायत मुलुकमा निर्यात हुने बताइन्छ । बहुमूल्य सामग्री निर्माणमा यसको प्रयोग हुने गरेकाले एलोभेराको माग पनि अत्यधिक रहेको जानकारहरू बताउँछन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.