काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से २ दशलमव ६७ प्रतिशत बढेर बन्द भएको छ । यससँगै नेप्से २ हजार ८९० दशमलव २८ विन्दुमा पुगेको हो । आजसँगै नेप्से लगातार ९ कारोबार दिन वृद्धि भएको हो ।
बजार बढ्दा कारोबार रकमसमेत बढेको छ । अघिल्लो कारोबार दिन रू. ११ अर्ब ३९ करोड बराबरको कारोबार भएकोमा यस दिन रू. १४ अर्ब २५ करोडभन्दा बढीको भएको छ ।
आजको कारोबार रकम ६ महीनायताकै उच्च हो । गत भदौ ११ गते रू. १८ अर्ब ६४ करोड बराबरको कारोबार भएको थियो । नेप्से परिसूचक पनि भदौ ९ गतेयताकै उच्च विन्दुमा पुगेको छ । गत भदौ ९ गते नेप्से परिसूचक २ हजार ८९४ दशमलव ५७ विन्दुमा थियो ।
बजार बढ्न थालेसँगै ठूला र संस्थागत लगानीकर्ताहरू सक्रिय हुन थालेका छन् । सोही कारण कारोबार रकम बढिरहेको जानकार बताउँछन् ।
मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षापछि बजारमा लगानीकर्ताको उत्साह बढेको छ । शेयर बजारलाई फाइदा पुग्ने गरी नीति आएपछि बजार बढेको हो । समीक्षामार्फत असल कर्जाबापत गर्नुपर्ने प्रोभिजन दर घटाइएको छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स ३ दशमलव ०८ प्रतिशत, फ्लोट इन्डेक्स २ दशलमव ८७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ३ दशमलव ०४ प्रतिशत वृद्धि भएको छ ।
आज ३०२ धितोपत्रको २ करोड ९१ लाख ६६ हजार ६५६ कित्ता शेयर १ लाख ३९ हजार ५९६ पटकमा रू. १४ अर्ब २५ करोडभन्दा बढीको कारोबार भएको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये पाँच धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । हिमालयन डिष्टीलरी, गार्डियन माइक्रोलाइफ, नेपाल लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युत कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३ हजार १८५ दशमलव १० मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने (प्रतिशतका आधारमा) कम्पनीको सूचीमा दोस्रोमा अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य ५ दशमलव ४७ प्रतिशत घटेर रू. ९३९ कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा नेपाल रिइन्स्योरेन्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ९७ करोड ५३ लाख बराबरको शेयर कारोबार भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ३२३ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा हिमालयन रिइन्स्योरेन्स कम्पनीको रू. ८५ करोड ९३ लाख बराबरको भएको हो ।
कारोबारमा आएका १३ समूहगत सूचकमध्ये म्युचुअल फण्डको १ दशमलव २७ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको छ । तीमध्ये उत्पादन तथा प्रशोधन समूहको सूचक सबैभन्दा बढी ४ दशमलव ७९ प्रतिशत वृद्धि भएको छ । त्यस्तै वित्त समूहको ४ दशमलव २८ प्रतिशत, होटल तथा पर्यटन समूहको ४ दशमलव १४ प्रतिशत र जीवन बीमा समूहको ४ दशमलव ३१ प्रतिशत वृद्धि भएको छ ।