काठमाडौं । आइतवार २ दशमलव ६७ प्रतिशत बढेको बजारमा समाज लघुवित्तको शेयर मूल्य भने सबैभन्दा बढी १० प्रतिशतले घटेको छ ।
यस दिन समाज लघुवित्तको शेयर मूल्य प्रतिकित्ता ३५३ रुपैयाँ ९० पैसाले घटेर प्रतिकित्ता ३ हजार १८५ रुपैयाँ १० पैसा कायम भएको हो ।
यस कम्पनीले ग्रामिण विकास लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने सम्बन्धी सम्झौता पत्रमा फागुन १७ गते हस्ताक्षर गरेको छ । उक्त निर्णय आइतवार कम्पनीले सार्वजनिक गरेको थियो ।
उक्त निर्णयप्रति लगानीकर्ताहरू सन्तुष्ट नभएको आइतवार कम्पनीको शेयर मूल्य घटेको आधारमा अनुमान लगाउन सकिन्छ । उता ग्रामिण विकास लघुवित्तको शेयर मूल्य भने ६ दशमलव ५१ प्रतिशत वृद्धि भएको छ । प्रतिकित्ता ५८ रुपैयाँले बढेर ग्रामिण विकास बैंकको शेयर मूल्य प्रतिकित्ता ९४९ रुपैयाँ कायम भएको हो ।
एक लगानीकर्ताले नाम नबताउने शर्तमा भोलिका दिनमा एक हुन लागेका दुई कम्पनीमध्ये सस्तो शेयर मूल्य भएको कम्पनीमा लगानीकर्ता सिफ्ट भएको बताए । महँगो मूल्यको समाज लघुवित्तको शेयर बेचेर सस्तो मूल्यको ग्रामिण विकास लघुवित्तको शेयर खरीद गर्न लगानीकर्ता सक्रिय रहेको ती लगानीकर्ताले प्रष्ट पारे ।
सूचीकृत कम्पनीहरूबीच मर्जरको विषयमा यस्तो गतिविधि हुने गरेको तथ्यलाई पनि ती लगानीकर्ताले प्रष्ट पारेका छन् । यी दुई कम्पनीबीच मर्जर सम्झौता भए पनि शेयर स्वाप रेसियोका सम्बन्धमा आधिकारिक जानकारी नभएको अवस्थामा लगानीकर्ता मर्जरमा जाने दुई कम्पनीमध्ये सस्तो कम्पनीको शेयर बढाउन लागिपरेको भनाई ती लगानीकर्ताको छ ।
आइतवार समाज लघुवित्तको १६ हजार १६९ कित्ता शेयर कारोबार भएको छ भने ग्रामिण विकास लघुवित्तको ५६ हजार ७७४ कित्ता शेयर कारोबार भएको छ ।