काठमाडौं । लगातार ९ कारोबार दिन बढेको बजार सोमवार (आज) भने १३ दशमलव ६२ अंक घटेको छ । नेप्से यस दिन २ हजार ८७६ दशमलव ६६ विन्दुमा कायम भएको हो । इन्ट्राडेमा भने नेप्से २ हजार ९२९ दशमलव २१ विन्दुसम्म पुगेको थियो ।
९ कारोबार दिनमा नेप्से २११ दशमलव ७८ अंक बढेको थियो । बढेको बजारमा प्रोफिट बुक गर्ने हाबी भएसँगै सोमवार बजार सामान्य करेक्सन भएको हो ।
कारोबारीहरूले नाफा बुक गर्दा बजार सामान्य प्रभावित भएको हो । उनीहरू बजार केही बढ्ने बित्तिकै प्रोफिट बुक गर्ने गर्छन् । त्यस्तै प्राविधिक विश्लेषण गरेर कारोबार गर्नेहरू पनि केही मूल्य बढेपछि तत्काल शेयर बेच्ने भएकाले पनि बजारमा दबाब परेको लगानीकर्ता बताउँछन् ।
बढ्दो बजारमा पनि बीचबीचमा करेक्सनहरू आवश्यक हुन्छ । करेक्सनपछि बजार थप बलियो भएर अघि बढ्न सक्ने जानकारहरू बताउँछन् ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । आइतवार रू. १४ अर्ब २५ करोड बराबरको कारोबार भएकोमा आज रू. १४ अर्ब २८ करोड बराबरको भएको हो ।
सोमवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ७६ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ५५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ८१ प्रतिशत घटेको छ ।
आज कारोबारमा आएका ३०० धितोपत्रको ३ करोड १२ लाख ४१ हजार २५८ कित्ता शेयर १ लाख ३९ हजार ५५५ पटक कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत बढेसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार २५६ दशमलव ४० पुगेको छ । शेयर मूल्य सर्वाधिक बढ्ने (प्रतिशतका आधारमा) सूचीमा दोस्रोमा दिव्यश्वरी हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ४५ प्रतिशत बढेर रू. ४१७ कायम भएको छ ।
सोमवार समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ८६६ दशमलव ६० मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने (प्रतिशतका आधारमा) दोस्रोमा उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७ दशमलव २४ प्रतिशत घटेर रू. ४ हजार ६३८ कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा हिमालयन रिइन्स्योरेन्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. १ अर्ब ३८ करोडभन्दा बढीको कारोबार भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ९३ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नेपाल रिइन्स्योरेन्स कम्पनीको रू. ७३ करोड ४२ लाख बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका १३ समूहगत सूचकमध्ये पाँच समूहको सूचक बढेको छ भने बाँकी समूहको सूचक घटेको छ । तीमध्ये अन्य समूहको सूचक सबैभन्दा बढी १ दशमलव ६८ प्रतिशत वृद्धि भएको छ भने होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा बढी १ दशमलव ८८ प्रतिशत घटेको छ ।