काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड १ भोलि (सोमवार) देखि परिपक्क हुने भएको छ । सात वर्षे अवधिको बन्दमुखी पकृतिको यो योजना २०७४ फागुन २० गतेदेखि सञ्चालनमा रहेको थियो । योजना परिपक्क भएसँगै खारेजी प्रक्रियामा जान लागेको छ ।
आइतवार योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडले सूचना जारी गर्दै फागुन १५ गतेसम्म कायम इकाईधनीहर" मात्र योजना खारेजीपश्चात् प्रतिफल प्राप्त गर्न योग्य हुने जानकारी दिएको हो ।
यस योजनाको ८ करोड २० लाख इकाई धितोपत्र दोस्रो बजारमा सूचीकृत समेत रहेको थियो । फागुन १८ गतेदेखि लागू हुने गरी उक्त इकाई सूचीकरण समेत खारेज भएको छ । यस आधारमा फागुन १५ गतेसम्म कायम इकाईधनीहरू मात्र योजनाको प्रतिफल पाउन योग्य भएका हुन् ।
योजना खारेजीपश्चात् योजना अन्तर्गतका सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई उनीहरूको स्वामित्वको आधारमा फिर्ता भुक्तानी हुनेछ । माघ मसान्तसम्म योजना ९ करोड ३० लाख रुपैयाँभन्दा बढी नाफामा रहेको छ । माघ मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य ११ रुपैयाँ १८ पैसा थियो ।
यस योजनाले सात वर्षको अवधिमा चार आर्थिक वर्ष प्रतिफल समेत वितरण गरेको छ । आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट ७ प्रतिशत, ०७६/७७ को मुनाफाबाट १५ प्रतिशत, ०७७/७८ को मुनाफाबाट ४० प्रतिशत र ०८०/८१ को मुनाफाबाट ९ प्रतिशत प्रतिफल कम्पनीले वितरण गरेको तथ्याङ्क छ ।