काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले निष्कासन गरेको ‘निफ्रा ग्रीन इनर्जी बोन्ड ६ % – २०८८/८९’ नामको हरित उर्जा ऋणपत्रको बाँडफाँड बिहीवार (आज) सम्पन्न भएको छ ।
निष्कासन तथा विक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको लाजिम्पाटस्थित कार्यालयमा बाँडफाँड भएको हो ।
५ अर्ब रुपैयाँ बराबरको उक्त ऋणपत्र यही जेठ १८ देखि २५ गतेसम्म निष्कासन गरिएको थियो । जसमा कुल निष्कासन रकमको ६० प्रतिशत व्यक्तिगत तवर र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको थियो ।
७ वर्षको अवधिको वार्षिक ६ प्रतिशत ब्याजदर भएको उक्त ऋणपत्रका लागि ३.८ गुणाभन्दा बढी आवेदन प्राप्त भएको विक्री प्रबन्धकले जानकारी दिएको छ ।
यो ऋणपत्र नेपालमै पहिलो पटक सार्वजनिक रूपमा जारी गरिएको हरित उर्जा ऋणपत्र हो ।