काठमाडौं । धितोपत्र प्राथमिक बजारमा हाल ४ कम्पनीका धितोपत्र सार्वजनिक निष्कासनमा रहेका छन् । पछिल्लो समय सार्वजनिक निष्कासन स्वीकृति प्रक्रियाले निरन्तरता पाएसँगै प्राथमिक बजारमा निरन्तर सार्वजनिक निष्कासन भइरहेका हुन । हाल सन नेपाल लाइफको २७ प्रतिशत र छ्याङ्दी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर सार्वजनिक निष्कासनमा रहेका हुन् भने हिम स्टार ऊर्जा कम्पनीको आईपीओ र प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किमको इकाई सार्वजनिक निष्कासनमा रहेका हुन् । सार्वजनिक निष्कासनमा धितोपत्रको विविधता रहेको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख ३० गतेदेखि वैशाख ४ गतेसम्म कायम शेयरधनीहरूका लागि २७ प्रतिशत हकप्रद शेयर निष्कासन गरिरहेको छ । असार ३ गतेसम्म सन नेपाल लाइफको हकप्रद शेयर निष्कासनमा रहने छ । कम्पनीले हाल कायम चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँको आधारमा १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । सन नेपाल लाइफलले नेपाल बीमा प्राधिकरणको निर्देशनमा ५ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्न हकप्रद शेयर निष्कासन गरेको हो । २७ प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ कायम हुनेछ ।
त्यस्तै छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गते असार १२ गतेसम्मका लागि शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँको आधारमा सोही रकम बराबरको हकप्रद शेयर निष्कासन गरेको हो । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ कायम हुनेछ । छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयरकम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि जेठ २ गते बुकक्लोज गरेको छ । बुक क्लोजको आधारमा जेठ १ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । छ्याङ्दीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
सार्वजनिक निष्कासनमा हिम स्टार उर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गनगरेको हो । कम्पनीले जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सवोन) बाट अनुमति पाएको थियो । यसमध्ये १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ८६ हजार ५०० कित्ता आईपीओ साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरेको हो भने सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ९३ लाख २५ हजार रुपैयाँ बराबरको ९३ हजार २५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको हो । स्थानीयमा जारी भएको शेयर खरिदका लागि ओखलढुङ्गा जिल्ला, खिजिदेम्बा गाउँपालिका वडा नं. ८, साविक भुसिङ्गा गाविसका सम्पूर्ण वडा र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २, साविक गोली गा.विस वडा नं. १, २, ३, ४, ५ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
दुबै तर्फको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि छिटोमा असार १३ गतेसम्म निष्कासनमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा असार २९ गतेसम्म निष्कासन लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने असार १३ गतेभित्र आवेदन दिनु पर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
जेठ २३ गतेदेखि प्रभु क्यापिटल लिमिटेडले नयाँ योजना सञ्चालनका लागि इकाई निष्कासन गरेको छ । क्यापिटलले प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम नाम खुलामुखी योजना सञ्चालन गर्न लागेको हो । त्यसका लागि क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका २५ करोड रुपैयाँ बराबरको २ करोड ५० लाख इकाई निष्कासनमा ल्याएको हो । यी इकाई निष्कासनका लागि तोकिएको छिटो अवधि जेठ २७ गतेसम्म माग बमोजिम आवेदन नपरेपछि योजना व्यवस्थापकले ढिलो अवधि असार ६ गतेसम्म निष्कासन खुला गरेको छ । यस योजनाको कुल आकार ४ करोड इकाइको हुनेछ । कुल इकाईमध्ये ७ दशमलव ५ प्रतिशत अर्थात ३० लाख इकाई कोष प्रबर्धक प्रभु बैंक र ७ दशमल ५ प्रतिशत अर्थात ३० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ । यी वाहेक २ करोड ५० लाख इकाई भने सार्वजनिक निष्कासनमा ल्याइएकोे हो ।
इकाई निष्काशन तथा बिक्री प्रबन्धकमा योजना व्यवस्थापकका रुपमा रहेको प्रभु क्यापिटल लिमिटेडनै रहेको छ । यो योजना खुलामुखी प्रकृतिको भएकाले निरन्तर चलिरहनेछ । धितोपत्र दोस्रो बजारमा बन्दमुखी प्रकृतिको योजनाको जसरी कारोबार नहुने हुँदा योजना व्यवस्थापक तथा कोष प्रबद्र्धक आफै वा अन्य आधिकारिक संस्थाहरुलाई वितरक तोकी इकाई खरीदविक्री हुने व्यवस्था मिलाईनेछ । खुलामुखी योजनाका इकाईहरु खरीदविक्री गर्न इकाईधीहरुलाई कुनै प्रतिवन्ध हुदैंन । योजनाको खुद सम्पत्ति मूल्यको आधारमा यस योजनाको इकाई खरीद विक्री हुनेछ ।