काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई वार्षिक साधारण सभा गर्ने बाटो खुलेको छ । कम्पनीले यस अवधिसम्म गत वर्षको वार्षिक साधारण सभा गरेको छैन । फागुन ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको थियो ।
फागुन १२ गते पेश भएको वित्तीय विवरणहरू फागुन १८ गते नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको जानकारी कम्पनीले नेप्सेमार्फत गराएको हो । यस वर्ष कम्पनीले लाभांश भने वितरण नगर्ने निर्णय गरेको छ । फागुन ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
यस कम्पनीले हालसम्म कुनै पनि लाभांश वितरण नगरेको अवस्था छ । हाल कम्पनीको चुक्तापूँजी ७० करोड ८ लाख ५८ हजार रुपैयाँ छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य मुनाफा ३ करोड रुपैयाँभन्दा बढी ऋणात्मक छ । यस अवधिसम्म कम्पनीले ६ करोड १७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
कम्पनीले देशका ४४ ओटा जिल्लामा १५५ शाखा कार्यालयमार्फत १ लाख ७८ हजारभन्दा बढी विपन्न परिवारमा सेवा प्रदान गर्दै आएको छ ।