काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख २८ गते २८औं वार्षिक साधारण सभा बोलाएको छ । वैशाख ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रानीमहल बैंकेट, ज्ञानेश्वर,काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजीका आधारमा १५ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार रुपैयाँ छ ।
उल्लेखित प्रस्तावहरुसँगै सञ्चालक समिति तथा उपसमितिहरुको बैठक भत्ता तथा सुविधा पुनरावलोकन सम्बन्धमा पनि सभाले आवश्यक निर्णय गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख १७ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा वैशाख १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।