काठमाडौं । अमेरिकाले चिनियाँ वस्तुमाथि २४५ प्रतिशतसम्म भन्सार लगाएपछि अमेरिका जानबाट रोकिएका चिनियाँ सामान आफ्नो देशको बजारमा आई आन्तरिक उत्पादनको बजारलाई असर गर्ला भन्ने चिन्ता संसारभर फैलिएको छ । नेपालमा जुत्ता र तयारी पोशाकलगायत केही आन्तरिक उत्पादनलाई असर गर्ने आंशका छ । तर, चीनबाट नेपाल आयात हुने अधिकांश वस्तु नेपालमा उत्पादन नहुने भएकाले अर्थतन्त्र नै प्रभावित हुने गरी असर नपर्ने विज्ञहरू बताउँछन् ।
स्मार्टफोन, ल्यापटपलगायत केहीलाई छाडेर चिनियाँ सामानमाथि २४५ प्रतिशतसम्म भन्सार लाग्ने अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बताएको छ ।
चीनले पनि अमेरिकी सामानमा १२५ प्रतिशत भन्सार लगाएको छ । फलस्वरूप संसारका सबैभन्दा ठूला दुई अर्थतन्त्रबीचको व्यापार हाल अवरुद्ध छ । अमेरिकी सरकारको तथ्यांकअनुसार सन् २०२४ मा उसले चीनबाट ४ खर्ब ४० अर्ब अमेरिकी डलरको र चीनले अमेरिकाबाट १ खर्ब ४५ अर्ब डलरको सामान आयात गरेको छ ।
अमेरिका जाने ठूलो परिमाणको चिनियाँ सामानलाई बजार चाहिएकाले चिनियाँ निर्यातकर्ताले संसारभर सस्तोमा सामान पुर्याउन सक्ने आर्थिक क्षेत्रका विज्ञहरू बताउँछन् । नेपालमा पनि ती सामान आउनेमा द्विविधा नरहेको उनीहरूको भनाइ छ ।
व्यापारविद् तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसहसचिव रवि सैंजू नेपाल सानो बजार भए पनि चिनियाँ सामान सस्तोमा आउँदा उस्तै सामान उत्पादन गर्ने नेपाली उद्योगलाई असर गर्ने बताउँछन् ।
‘चीनले ठूलो मात्रामा उत्पादन गर्ने हुँदा अमेरिका जान नसकेको सामान आफ्नै देशमा वा अन्य देशमा बेच्नु उसको बाध्यता हुन्छ,’ सैंजूले भने । ‘नेपाल मात्रै होइन, भारत, बंगलादेशको बजार पनि चीनले हेरिरहेको छ ।’
तर, चीनबाट आउने अधिकांश सामान नेपालमा उत्पादन नहुने भएकाले नेपालका अधिकांश उत्पादनमा चिनियाँ सामानको बाढीले खासै असर भने नगर्ने व्यापार विज्ञहरू बताउँछन् ।
‘चिनियाँ सामानको बाढीले अन्य देशका उत्पादनले नेपालमा लिइरहेको बजारमा भने प्रत्यक्ष असर पार्न सक्ने देखिन्छ,’ व्यापारसम्बन्धी थिंकट्यांक–साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स र इन्भायरोमेन्ट (सावती) का कार्यकारी निर्देशक पारस खरेलले भने ।
उनका अनुसार नेपालको जुत्ता र स्थानीय खपतका लागि तयारी पोशाक उत्पादन गर्नेहरूलाई चिनियाँ सामानको बाढीले असर गर्न सक्छ । गोल्डस्टार ब्रान्ड जुत्ता उत्पादक किरण शुज म्यानुफ्याक्चरर्स प्रालिका कार्यकारी निर्देशक विदुषी राणाले सस्ता चिनियाँ जुत्ताको असर नेपाली जुत्ता उत्पादकहरूले अहिले नै भोगिरहेको भन्दै अमेरिकी भन्सार दरभन्दा न्यून बीजकीकरण भएर चिनियाँ सामान आउनु ठूलो समस्या रहेको बताइन् । ‘आयातकर्ताले जति मूल्य तिरेको हो त्यत्तिको कर तिरेर चिनियाँ जुत्ता ल्याएमा अझै पनि हाम्रा उत्पादनले चिनियाँ जुत्तासँग प्रतिस्पर्धा गर्न सक्छन्,’ उनले भनिन् ।
स्वदेशी उद्योगको लागत पनि नउठ्ने मूल्यमा विदेशी सामान आयात भएमा देशको उद्योगधन्दा चौपट हुने विज्ञहरू बताउँछन् । ‘सस्तोमा सामान पाएपछि स्वदेशी उत्पादक पनि आयातमै केन्द्रित हुने सम्भावना हुन्छ,’ खरेलले भने, ‘अर्काेतर्फ चोरी पैठारी भएर सामान आउने र यहाँबाट नेपाली उत्पादन भनेर अमेरिका निर्यात गर्ने सम्भावना हुन्छ ।’
नेपाल र भारतबीचको अवैध व्यापार नियन्त्रणसम्बन्धी सम्झौताअनुसार तेस्रो देशको सामान एकअर्काको देशमा मूल्य अभिवृद्धि नगरिकन पुन: निर्यात गर्न पाइँदैन । त्यसो भएमा नेपालले भारतीय दबाब खेप्नुपर्नेछ ।
भारतमा भने चिनियाँ सामानको बाढी आउनसक्ने भयले त्यहाँका उत्पादकले भारतीय सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरिसकेका छन् ।