काठमाडौं । बैंक, वित्तीय संस्थाहरूबाट ऋण लिने तपाईंको योग्यता मापन कसरी हुन्छ ? हालसम्म ऋणको प्रयोजन, ब्याजसाँवासहितको किस्ता तिर्ने योजना तथा सुरक्षाका लागि दिने बलियो धितोजस्ता आधारमा बैंकले ऋणीको योग्यताबारे निर्णय गर्दै आएको छ । आगामी दिनमा यतिले मात्र पुग्दैन, ऋणका लागि व्यक्तिको योग्यता मापन गर्न ‘क्रेटिड स्कोर’ पनि हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले ऋण लगानी गर्दा व्यक्तिको योग्यता मापन गर्ने प्रमुख आधार ‘क्रेडिट स्कोरिङ’कोे प्रावधान लागू गर्ने तयारी गरिरहेको छ । व्यक्तिको क्रेडिट स्कोरिङका लागि आवश्यक कानूनी तथा नीतिगत प्रावधान, प्राविधिक पूर्वाधार निर्माण, नियामकीय ढाँचा, क्रेडिट स्कोरिङ मापनसम्बन्धी अन्तरराष्ट्रिय अभ्यासलगायत विषयमा विश्लेषण भइरहेको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले जानकारी दिए । आवश्यक पूर्वाधार निर्माण भएपछि क्रेडिट स्कोरिङ अभ्यास शुरू गर्ने र प्रचलनमा ल्याउने उनले बताए ।
केन्द्रीय बैंकले गत आर्थिक वर्ष (आव) २०८०/८१ को मौद्रिक नीतिमार्फत बैंक, वित्तीय संस्थाबाट कर्जा लिन ‘क्रेडिट स्कोरिङ’ मापन गर्ने प्रणाली विकास गर्ने घोषणा गरेको थियो । मौद्रिक नीतिमा ‘क्रेडिट स्कोरिङ’ प्रणाली विकास गर्न सम्बद्ध निकायसँग आवश्यक समन्वय गरिने उल्लेख गरेको केन्द्रीय बैंकले हाल त्यसको जिम्मेवारी कर्जा सूचना केन्द्रलाई दिएको छ ।
- ऋण लगानी गर्दा व्यक्तिको योग्यता मापन गर्ने प्रमुख आधार ‘क्रेडिट स्कोरिङ’कोे प्रावधान लागू गर्ने तयारीमा नेपाल राष्ट्र बैंक
- व्यक्तिले गर्ने वित्तीय कारोबारको प्रवृत्ति र विश्वसनीयताका आधारमा क्रेडिट स्कोर बन्ने भएकाले बैंकहरूलाई यसका आधारमा कर्जा प्रवाह गर्न सजिलो हुने आयोगको सुझाव
‘क्रेडिट स्कोरिङ प्रणाली बनाउन आवश्यक अध्ययन गर्ने जिम्मेवारी कर्जा सूचना केन्द्रलाई दिएका छौं,’ प्रवक्त पौडेलले भने, ‘त्यसका लागि केन्द्रीय बैंक, बैंक तथा वित्तीय संस्था र अन्य सरोकारवालासँग पनि समन्वय भइरहेको छ ।’ क्रेडिट स्कोरिङ प्रचलनमा ल्याउन कानूनी तथा प्राविधिक पूर्वाधार निर्माणलगायत तयारी गर्नुपर्ने भएकाले केही समय लाग्ने उनले बताए ।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले पनि क्रेडिट स्कोरिङ लागू गर्न सुझाव दिएको छ । हाल घरजग्गा धितोविना परियोजना धितोमा कर्जा लगानी गने प्रवृत्तिको कमी रहेको र यसले गर्दा कर्जाको लागि समेत जग्गामा लगानी गनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै आयोगले विनाधितो कर्जाका लागि क्रेडिट स्कोरिङको व्यवस्था हुनुपर्ने बताएको छ । व्यक्तिले गर्ने वित्तीय कारोबारको प्रवृत्ति र विश्वसनीयताका आधारमा क्रेडिट स्कोर बन्ने भएकाले बैंकहरूलाई यसका आधारमा कर्जा प्रवाह गर्न सजिलो हुने आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
कर्जा सूचना केन्द्रले भने प्रारम्भिक रूपमा भने पनि क्रेडिट स्कोरिङको काम शुरू गरेको बताएको छ । प्रवक्त विजय कुँवरका अनुसार केन्द्रले हाल ऋणको तथ्यांकका आधारमा क्रेडिट स्कोरिङ गरी बैंकहरूलाई दिने गरेको बताए । ‘हामीसँग अहिले व्यक्तिले उपभोग गरेको कर्जाको तथ्यांक छ,’ उनले भने, ‘त्यसका आधारमा मात्र भए पनि क्रेडिट स्कोरिङ गरी बैंकहरूलाई उपलब्ध गराउँदै आएका छौं ।’ पूर्ण रूपमा क्रेडिड स्कोरिङका लागि भने व्यक्तिको अन्य दायित्वहरूको तथ्यांक उपलब्ध हुनुपर्ने भएकाले त्यसका लागि केन्द्रलाई कानूनी व्यवस्था आवश्यक पर्ने उनले बताए ।
नेपाल राष्ट्र बैंकले हाल ५० करोड रुपैयाँभन्दा बढी ऋण लिने संस्था तथा कम्पनीको क्रेडिट रेटिङ अनिवार्य गरेको छ । हाल इक्रा नेपाल, केयर नेपाल र इन्फोमेरिक्सले यस्तो रेटिङ गर्दै आएका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार २०८० फागुनसम्ममा बैंक, वित्तीय संस्थाबाट १९ लाख ३७ हजार व्यक्ति तथा कम्पनीले ऋण लिएका छन् । बैंकहरूले प्रवाह गरेको कुल कर्जामध्ये घरजग्गा धितो सुरक्षणमा ६५ दशमलव २ प्रतिशत र चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को सुरक्षणमा १४ दशमलव ५ प्रतिशत छ ।
के हो क्रेडिट स्कोर
क्रेडिट स्कोर भनेको व्यक्तिको क्रेडिटबारे सबै जानकारी एकीकृत गरी त्यसलाई मूल्यांकन गरी दिइएको व्यक्तिको क्रेडिट योग्यताको अंक हो । यसले व्यक्तिको ऋण लिने क्षमता देखाउने हुँदा बैंकलाई यसकै आधारमा सम्भावित जोखिमको विश्लेषण गर्न र लगानीको निर्णय गर्न सजिलो हुन्छ ।
व्यक्तिले बैंक, वित्तीय संस्थाको ऋणका साथै तिर्नुपर्ने दायित्व जस्तै आयकर, खानेपानी, बिजुली, इन्टरनेट, टेलिफोनको बिलजस्ता भुक्तानीका सूचनाहरू पनि क्रेडिट स्कोरिङका लागि आवश्यक हुन्छन् । कर्जा सूचना केन्द्रका प्रवक्त विजय कुँवरका अनुसार व्यक्तिले क्रेडिटहरू समयमा भुक्तानी गरे/नगरेको आधारमा उसले नम्बर पाउँछ र त्यसैका आधारमा बैंकहरूले ऋण लगानीको निर्णय गर्ने गर्छन् ।