काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा घरबारविहीन र मानसिक स्वास्थ्य समस्या भएर सडकमा आश्रय लिई बसेका करीब १ हजार ९०० व्यक्तिहरूलाई खाना सहयोग गरेको छ । बैंकले काठमाडौं उपत्यकाका विभिन्न स्थानका सडक आश्रितलाई गत चैत २० देखि वैशाख ६ सम्म १८ दिन भोजनको व्यवस्था गरेको हो ।
बैंकले आज (आइतवार) वार्षिकोत्सव मनाउँदै छ । साथै बैंकले गत चैत २ देखि वैशाख ५ गतेसम्म सातै प्रदेशमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । कोशी प्रदेशको हल्दीबारी तथा महेन्द्रचोक, मधेश प्रदेशको विद्यापति चोक, बागमती प्रदेशको बूढानीलकण्ठ, गण्डकी प्रदेशको अमरापुरी, लुम्बिनी प्रदेशको हस्पिटललाइन तथा जीतपूर, कर्णाली प्रदेशको श्रीनगर तथा दुल्लु र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा स्वास्थ्य शिविर आयोजना गरेको थियो । यी स्वास्थ्य शिविरहरूबाट करीब १ हजार ७०० जनाको स्वास्थ्य जाँच भएको बताइएको छ ।
हरेक वर्ष बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गर्नुका साथै सामाजिक रूपान्तरणका लागि विभिन्न कार्य गर्ने संस्थालाई आर्थिक सहयोग गर्दै आएको बताइएको छ । आगामी दिनमा पनि बैंकले सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिएको छ ।