काठमाडौं । चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको कुल मुनाफा अघिल्लो आवको सोही अवधिको तुलनामा सामान्य सुधार भएको छ ।
बैंकहरूले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको उक्त अवधिसम्म २० वाणिज्य बैंकहरूले ४१ अर्ब २५ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेका छन् । उक्त नाफा गतवर्षको यसै अवधिसम्मको तुलनामा १ दशमलव ४० प्रतिशत बढी हो ।
तेस्रो त्रैमाससम्म ११ वाणिज्य बैंकको खुद नाफा गतवर्षको तुलनामा बढेको छ भने नौओटाको घटेको छ ।
बैंकहरूले कर्जा नोक्सानी व्यवस्थाका लागि बढी रकम छुट्ट्याउनुपरेकाले खुद नाफामा असर परेको विश्लेषण पूर्वबैंकरहरूले गरेका छन् । पूर्वबैंकर अनलराज भट्टराईले निष्क्रिय कर्जा बढेको र नोक्सानी व्यवस्थाका लागि बढी रकम छुट्ट्याउनुपर्ने अवस्थाबाट बैंकहरूको खुद नाफामा दबाब परेको बताए । २०७९ को असार मसान्तपछि बैंक, वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा निरन्तर बढेको पाइएको छ ।
यसलाई नेपालको वित्तीय क्षेत्रको एक प्रमुख जोखिमको रूपमा अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) ले हालै प्रकाशित आफ्नो प्रतिवेदनमा पनि उल्लेख गरेको छ । कर्जाको न्यून माग, बढ्दो निष्क्रिय कर्जा र घट्दो नाफालाई बैंकिङ क्षेत्रको समस्याका रूपमा उल्लेख गर्दै आईएमएफले यसलाई सम्बोधन गर्न राष्ट्र बैंकले कडा कदम चाल्नुपर्ने उल्लेख गरेको छ ।
यद्यपि पछिल्लो समय आर्थिक गतिविधिमा केही सुधार आएको कारण कर्जा असुली सहज हुन सक्ने भट्टराईको भनाइ छ । उदाहरणको लागि चालू आवको पहिलो ८ महीनासम्म निक्षेपको तुलनामा कर्जाको वृद्धिदर राम्रो देखिन्छ । त्यसैगरी अन्तरराष्ट्रिय व्यापारमा आएको सुधारले पनि आर्थिक गतिविधि केही बढेको संकेत गर्छ । भन्सार विभागका अनुसार चालू आवको ९ महीनामा मुलुकको निर्यात ६५ दशमलव १६ प्रतिशतले र आयात १२ दशमलव १८ प्रतिशतले बढेको छ ।
नयाँ आउने राष्ट्र बैंक गभर्नरले पुराना केही नीतिगत त्रुटिलाई सुधार गर्न सके त्यसबाट देशको राजस्व वृद्धि हुने र जनताको हातमा पनि पैसा हुने भनाइ पूर्वबैंकर भट्टराईको छ ।
पूर्वबैंकर भुवन दाहालले पनि पछिल्लो वित्तीय विवरणमा बैंकहरूको खराब कर्जामा समस्या देखिए पनि अन्य आम्दानी बढेको बताउँछन् । ‘आर्थिक गतिविधि बढिरहेको छ,’ उनी भन्छन् । ‘बैंकिङ क्षेत्रमा अहिले देखिएको नोक्सानी व्यवस्थाको समस्या केही समयमै कम भएर जानेछ ।
बैंकहरूको ब्याजदर ४ प्रतिशतभन्दा कम भएकाले पनि नाफामा सकारात्मक प्रभाव पर्न नसकेको हो ।’ पुराना कर्जामा समस्या भए पनि पछिल्लो समय बैंकहरूले प्रवाह गरेको कर्जा असुलीमा समस्या नरहेको बुझाइ दाहालको छ ।
यस त्रैमाससम्मको अवस्थालाई हेर्दा एन.आई.सी. एशिया बैंकको खुद नाफा सर्वाधिक ९१ दशमलव ८१ प्रतिशतले घटेको देखिन्छ । यो वर्ष खुद नाफा बढाउने पहिलो नम्बरमा नेपाल बैंक लिमिटेड रहेको छ । नेपाल बैंकले गतवर्ष तेस्रो त्रैमाससम्म १३ करोड ५ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएकोमा यस वर्ष बढाएर २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ नघाएको छ । प्रतिशतका हिसाबमा नेपाल बैंकको नाफा पोहोरको तुलनामा २ हजार ३२ दशमलव ८० प्रतिशत बढी हो ।
रकमका हिसाबमा नबिल बैंकले सबैभन्दा बढी खुद नाफा आर्जन गरेको छ । तेस्रो त्रैमाससम्म नबिल बैंकले ५ अर्ब ५ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ ।