काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले ७ वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर भएको २ अर्ब ५० करोड रुपैंयाको ऋणपत्र ‘७ प्रतिशत आरबिबिएल डिबेन्चर २०८८’ आइतवारबाट निष्कासन भएको छ । बैंकले प्रति ऋणपत्र एक हजार अंकित दरका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।
सोमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने सर्वसाधारण लगानीकर्ताले ९ लाख ५० हजार कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् ।
सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने बताइएको छ । निष्कासन बन्द छिटोमा वैशाख १० र ढिलोमा वैशाख २१ गते हुनेछ ।
बैंकको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङ्स नेपालले बैंकलाई ‘केयर एनपी ए प्लस इस्यूअर’ रेटिङ प्रदान गरेको छ । सो रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गरेको बैंकको भनाइ छ । सो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात् कर कट्टा गरी भुक्तानी गरिने बताइएको छ ।