काठमाडौं । अघिल्ला तीन कारोबार दिन निरन्तर बढेको बजार आइतवार (आज)भने घटेको छ । आज शून्य दशमलव ६१ प्रतिशत अर्थात १६ दशमलव ६८ अंकले घटेर नेप्से २ हजार ७०६ दशमलव शून्य ४ विन्दुमा बन्द भएको हो । यो दिन २ हजार ७३१ दशमलव ८१ बिन्दुसम्म पुगेको नेप्से २ हजार ७०० दशमलव ८५ बिन्दुसम्म झरेको थियो ।
अघिल्ला तीन कारोबार दिन निरन्तर बढेको बजारमा भएको नाफा बुक गर्नेहरू सक्रिय हुँदा यो दिन बजार प्रभावित बनेको जानकारहरू बताउँछन् । यतिबेला लगानीकर्ताको उत्साहले आगामी दिनमा बजार सकारात्मक बन्ने अपेक्षा जानकारहरूको छ । ब्रोकरले अहिलेको बजार अल्पकालीन लगानीकर्ताको हातमा रहेकाले छोटो समयमै नाफा बुक हुनु स्वभाविक रहेको बताउँछन् । पछिल्ला कारोबार दिन दोस्रो बजारमा दैनिक कारोबारमा सहभागी हुने लगानीकर्ताको संख्या बढ्दो क्रममा रहेको जानकारी समेत ब्रोकरले दिएका छन् ।
आइतवारको कारोबारमा ५३ कम्पनीको धितोपत्र मूल्य बढेको छ भने १९२ कम्पनीको धितोपत्र मूल्य घटेको छ । यो दिन एक कम्पनीको धितोपत्र मूल्य भने स्थिर रहेको छ । इमर्जिङ नेपाल लिमिटेडको शेयर मूल्य यो दिन अघिल्लो कारोबार दिन कायम प्रतिकित्ता १ हजार २४५ रुपैयाँ नै कायम भएको हो ।
नेपाल माइक्रो इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत बढ्दा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशत बढेको छ । यो दिन नेपाल माइक्रो इन्स्योरेन्सको शेयरमूल्य प्रतिकित्ता ५८ रुपैयाँ ८० पैसाले बढेर अन्तिम मूल्य ६४७ रुपैयाँ ५० पैसा कायम भएको हो । त्यस्तै क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य भने प्रतिकित्ता ४८ रुपैयाँ ६० पैसाले बढेर अन्तिम मूल्य प्रतिकित्ता ५३५ रुपैयाँ ४० पैसा कायम भएको छ । यस दिन हिमालयन पावर पार्टनर र बलेफी हाइड्रोपावरको शेयमूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ ।
आइतवार कारोबार रकम पनि घटेको छ । यो दिन ८ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको २ करोड १३ लाख २३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । अघिल्लो कारोबार दिन १० अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको २ करोड ३७ लाख ७३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो ।
कुल कारोबार रकममा राधी विद्युत कम्पनीको सर्वाधिक हिस्सा रहेको छ । राधी विद्युत कम्पनीको ६८ करोड ७६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबारसँगै कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३४ रुपैयाँ ३२ पैसाले बढेर अन्तिम मूल्य ५७३ रुपैयाँ ५० पैसा कायम भएको छ ।
कुल बजार पूँजीकरण यो दिन ४४ खर्ब ९९ अर्ब ५५ करोड ७ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन कुल बजार पूँजीकरण ४५ खर्ब २६ अर्ब २३ करोड २२ लाख रुपैयाँ कायम भएको थियो । बजार घटेसँगै कुल बजार पूँजीकरण पनि आइतवार २६ अर्ब ६८ करोड २५ लाख रुपैयाँले घटेको हो ।
यस दिन व्यापारिक समूहको परिसूचक १ दशमलव शून्य ३ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव ५२ प्रतिशत बढेको छ भने बाँकी समूहको घटेको छ । यस दिन होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १ दशमलव ३६ प्रतिशत घटेको हो ।