काठमाडौं। नबिल बैंकले दिगो विकास तथा कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘नबिल दिगो बचत खाता’को शुरुआत गरेको छ । नेपालले सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनको लक्ष्य राखेको सन्दर्भमा बैंकले दिगो विकास तथा दिगो बैंकिङको दृष्टिकोण अनुरूप यस बचत खाता सञ्चालनमा ल्याएको बताइएको छ । यस योजनाअन्तर्गत सेवाग्राहीले पाउने ब्याजदरबाहेक जम्मा हुने कुल निक्षेपको वार्षिक शून्य दशमलव ५ प्रतिशतका दरले हुने रकम बैंकले प्रत्यक्ष रूपमा कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणमा खर्च गर्ने बताइएको छ ।
बैंकका अनुसार उक्त रकम कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणका लागि वन पुनस्र्थापना तथा वृक्षरोपण, नवीकरणीय ऊर्जा प्रवर्द्धन, फोहोर व्यवस्थापनका लागि पहल, स्वच्छ ऊर्जा तथा सफा पानीसम्बन्धी परियोजना तथा दिगो विकासका लक्ष्य अनुकूल लगायतका कार्यक्रममा खर्च गरिनेछ । यस योजनाअन्तर्गत नबिल दिगो बचत खातामा अर्धवार्षिक रूपमा औसतमा रू. ५० हजार राख्ने ग्राहकका नाममा टोकनस्वरूप एकपटकका लागि वृक्षरोपण गरिने बताइएको छ ।
यसबाट कार्बन उत्सर्जन न्यूनीकरण तथा नियन्त्रण र दिगो विकास लक्ष्य हासिल गर्न प्रत्यक्ष योगदान पुग्नेमा बैंकको विश्वास छ । यस खाता खोल्नका लागि न्यूनतम मौज्दात रू. १० हजार आवश्यक पर्नेछ । यो विशेष बचत खाता वित्तीय लाभका साथै वातावरण संरक्षणमा प्रत्यक्ष योगदान गर्न चाहने सबै उमेर समूहका व्यक्ति, गैरआवासीय नेपाली (एनआरएन) र गैर–नाफामुखी संस्थाहरूलाई लक्षित गरिएको बताइएको छ ।
साथै न्यूनतम मौज्दात कायम राख्ने ग्राहकले डिजिटल बैंकिङ प्रवर्द्धनअन्तर्गत नबिल बैंकका डिजिटल बैंकिङ प्लेटफर्महरू एनबैंक र एनबैंक वेभ आजीवन नि:शुल्क प्रयोग गर्न सक्नेछन् । यसबाट कागजरहित बैंकिङ संस्कृति प्रवर्द्धन हुने बैंकको विश्वास छ । त्यसबाहेक यस योजनामा सहभागी हुने ग्राहकलाई पहिलो वर्ष नि:शुल्क नबिल डेबिट कार्ड तथा क्रेडिट कार्ड, वार्षिक लकर शुल्कमा २५ प्रतिशत छूट र योग्य ग्राहकलाई बीमा सुविधा पनि उपलब्ध गराइने बताइएको छ ।