काठमाडौं। मुक्तिनाथ विकास बैंकले १५ देखि १८ वर्षका युवा लक्षित ‘मुक्तिनाथ पकेट मनी’ बचत खाता सञ्चालनमा ल्याएको छ । यो बचत खाता विशेषगरी भर्खरै एसईई दिएर बसेका विद्यार्थीलाई फाइदा पुग्ने बैंकको अपेक्षा छ । सो उमेर समूहका ग्राहकलाई बैंकिङ क्षेत्रमा आकर्षित गर्न, डिजिटल बैंकिङ प्रोत्साहन गर्न, बचतको महत्त्व बझाउन र विद्युतीय कारोबारमा निहित जोखिमसम्बन्धी साक्षरता प्रदान गर्न यो बचत खाताले मद्दत गर्ने बताइएको छ ।
यो बचत खातामा न्यूनतम रू. ५० मौज्दात राखेर खाता खोल्ने प्रत्येक ग्राहकलाई बैंकले अर्धमासिक तथा मासिक रूपमा एकपटक नि:शुल्क वित्तीय साक्षरता तथा विद्युतीय कारोबारको जोखिमसम्बन्धी ज्ञान प्रदान गर्ने बताइएको छ । यो खाता खोल्ने ग्राहकले १८ वर्ष नपुगुञ्जेल नि:शुल्क मोबाइल बैंकिङ सुविधा प्राप्त गर्नेछन् । साथै, यो खाता खोल्दा नि:शुल्क डिम्याट खाता तथा मेरो शेयर दर्ता लगायत विभिन्न बैंकिङ सेवामा समेत छूट पाइनेछ ।
बैंकले हालै मोबाइल एक फाइदा अनेक लिन सक्ने ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा ल्याएको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्य बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।