काठमाडौं । नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी दिइएको छ। नयाँ गभर्नर नियुक्तिको प्रक्रिया लम्बिँदा अर्थ मन्त्रालयले तिम्सिनालाई राष्ट्र बैंकको नेतृत्व सुम्पिएको हो।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तिम्सिनालाई कामु गभर्नरको जिम्मेवारी दिने निर्णय गरेका हुन्। अर्थमन्त्री पौडेलको सचिवालयले यसबारे पुष्टि गरेको छ।
नयाँ गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिले नाम सिफारिस गर्न ढिलाई गरिरहेकाले कामु गभर्नरको व्यवस्था गरिएको हो। उक्त समितिमा अर्थमन्त्री पौडेलको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल सदस्य रहेका छन्।
तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सम्पन्न भएसँगै राष्ट्र बैंकमा नेतृत्व रिक्त रहेको थियो। अब नयाँ गभर्नर नियुक्ति नहुञ्जेलसम्म तिम्सिनाले राष्ट्र बैंकको नेतृत्व सम्हाल्नेछिन्।