
काठमाडौं । उत्पादनमूलक उद्योगको प्रवद्र्धन गरी निर्यात प्रतिस्थापन रणनीति अवलम्बन गर्न नसक्दा नेपालले वर्षेनि अर्बौंको व्यापार घाटा व्यहोर्दै आएको छ । भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०७४/७५ को पहिलो ३ महीनामा नेपालले २ खर्ब ३९ अर्ब ७५ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । यो गत आवको तुलनामा १८ दशमलव ८७ प्रतिशत बढी हो ।
अधिकांश वस्तुमा बढ्दो परनिर्भरताका कारण हरेक वर्ष नेपालको वैदेशिक व्यापार घाटा बढ्दै गएको देखिएको छ । विभागको तथ्याङ्कअनुसार गत आवमा मुलुकको कुल व्यापार घाटा २ खर्ब १ अर्ब रुपैयाँमा सीमित थियो । निर्यातजन्य वस्तुको पहिचान, प्रवर्द्धन र बजारीकरणको अभावले हरेक वर्ष व्यापार घाटा तीव्र गतिले बढ्दै गएको यस क्षेत्रका विज्ञहरूको भनाइ छ ।
मुलुकको व्यापार घाटा अत्यासलाग्दो भएको र यसलाई कम गर्न रणनीतिक योजनाको आवश्यकता रहेको उनीहरू बताउँछन् । ‘हरेक वर्ष मुलुकको व्यापार घाटा अत्यधिक वृद्धि हुने गरेको छ, यो अत्यन्तै दुःखदायी अवस्था हो,’ व्यापार विज्ञ पुरुषोतम ओझाले भने । उनका अनुसार पर्याप्त स्वदेशी उत्पादन हुन नसक्दा व्यापार घाटा चुलिँदो अवस्थामा पुगेको हो । मुलुकभित्रै सजिलै उत्पादन गर्न सकिने वस्तुसमेत पछिल्लो समय आयात गर्नुपर्ने बाध्यता रहेको ओझाको ठम्याइ छ । शिक्षा, पर्यटन सेवा लगायत अन्य थुप्रैको विकासमा जोड दिन सके मात्र पनि नेपालको व्यापार घाटा कम हुने उनको दाबी छ ।
गत आवको पहिलो ३ महीनाको तुलनामा चालू आवको सोही अवधिमा मुलुकको निर्यातमा केही सुधार देखिए पनि अत्यधिक आयातका कारण व्यापार घाटामा वृद्धि भएको भन्सार विभागका अधिकारीहरू बताउँछन् । गत आवको समीक्षा अवधिमा नेपालले २ खर्ब २० अर्ब रुपैयाँ बराबरको विविध वस्तु तथा सामग्री आयात गरेको थियो । तर चालू आवको सोही अवधिमा आयात १७ दशमलव ९५ प्रतिशतले वृद्धि भई २ खर्ब ६० अर्ब रुपैयाँ बराबर पुगेको छ । यसरी आयातमा अत्यधिक वृद्धि हुँदा व्यापार घाटा चुलिँदै गएको हो ।

समीक्षा अवधिको निर्यात भने सामान्य बढेको विभागको तथ्याङ्क छ । चालू आवको पहिलो ३ महीनामा नेपालबाट कुल २० अर्ब ४५ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ८ दशमलव २० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नेपालबाट कुल १८ अर्ब ९० करोड रुपैयाँ बराबरको सामान निर्यात भएको थियो । चालू आवको ३ महीनाको वैदेशिक व्यापार अवस्था हेर्दा नेपालको कुल वैदेशिक व्यापार रू. २ खर्ब ८० अर्ब रहेको छ । गत आवको सोही अवधिमा २ खर्ब ३९ अर्ब रुपैयाँमा सीमित रहेको वैदेशिक व्यापार चालू आवको सोही अवधिमा भने १७ दशमलव १८ प्रतिशतले बढेको हो ।
वाणिज्य मन्त्रालयका अनुसार व्यापार घाटा कम गर्न उत्पादनमूलक वस्तुको प्रोत्साहनका लागि करको दर घटाई दायरा फराकिलो बनाउनेतर्फ काम अघि बढाइएको छ । चुलिँदो व्यापार घाटा कम गर्न उत्पादनमूलक क्षेत्रमा लगानी अभिवृद्धि गर्ने गरी नीतिगत र कानूनी व्यवस्था सुनिश्चित गर्ने काम पनि भइरहेको मन्त्रालय स्रोतले बताएको छ । व्यापार घाटा कम गर्न आन्तरिक व्यापार स्वच्छ, प्रतिस्पर्धी र नियमन गर्ने कार्यमा सरोकारवाला निकाय लागिपरेको मन्त्रालयको भनाइ छ ।