२ वर्षदेखि निरन्तर हुँदै आएको राष्ट्रिय औद्योगिक प्रदर्शनी (घरेलु तथा साना उद्योग महोत्सव) यसपालि आर्थिक अभावले नहुने भएको छ । आर्थिक स्रोत नजुटेपछि घरेलु तथा साना उद्योग महासङ्घले तत्कालका लागि महोत्सव स्थगन गरेको छ ।
महासङ्घ अध्यक्ष सुरेश प्रधानले यसपटक आर्थिक अभावले प्रदर्शनी गर्न नसकिएको जानकारी दिए । यसअघि ११ देखि १५ माघसम्म हुने भनिएको महोत्सव विशेष कारण देखाउँदै अर्को सूचना नआएसम्मका लागि स्थगन गरिएको थियो । स्थगनको दुई हप्ता बित्दासमेत आर्थिक स्रोत जुट्ने सङ्केत नदेखिएपछि बाध्य भएर महोत्सव रोक्नुपरेको प्रधानले बताए ।
सहआयोजकले समेत साथ नदिएपछि महोत्सव गर्न अप्ठ्यारो भएको हो । ‘अघिल्ला वर्षमा घरेलु तथा साना उद्योग विभागको लघु, घरेलु तथा साना उद्योग विकास कोषबाट महोत्सवका लागि रू. १० लाख उपलब्ध हुन्थ्यो,’ प्रधानले भने, ‘तर, कोषको निर्देशिका संशोधनको क्रममा रहेकाले त्यो रकम पनि रोकियो ।’
उद्योग वाणिज्य महासङ्घलगायत कतिपय सहआयोजकले छुट्टाछुट्टै महोत्सव गर्ने भएपछि स्रोत जुट्न नसकेको महासङ्घका वरिष्ठ उपाध्यक्ष श्यामप्रसाद गिरीले बताए । उनले भने, ‘तत्काल स्थगित भए पनि वैशाखसम्ममा महोत्सव गर्ने योजनामा छौं ।’ महोत्सव सम्पन्न गर्न करीब रू. ३५ लाख खर्च लाग्ने अनुमान छ ।
महासङ्घ, उद्योग वाणिज्य महासङ्घ, उद्योग विभागलगायतको आयोजनामा २०६८ वैशाखमा सम्पन्न ११औं महोत्सवमा रू. ७ करोडबराबरको व्यवसाय भएको थियो ।
वर्ष ८, अंक १४५, सोमवार, २८ माघ, २०६९