काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको ‘बेष्ट बैंक अवार्ड २०२४’ बाट सम्मानित भएको छ । म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरू छनोट गरी सम्मानित गरेको हो ।
विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाको विकास, क्रेडिट रेटिङ लगायतका मापदण्डमा बैंक सन् २०२४ को लागि नेपालको उत्कृष्ट बैंक भएको बताइएको छ । म्यागाजिनले अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्यपूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकलाई सम्मान गरेको हो ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक भएको बताइएको छ । ग्लोबल फाइनान्सले यस वर्ष हङकङको एचएसबीसी, संयुक्त राज्य अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेशियाको मेबैंक, बंगलादेशको स्ट्याण्डर्ड चार्टर्ड बंगलादेश, फिलिपिन्सको मेट्रो बैंक लगायतका विश्वभरका विभिन्न बैंकलाई विभिन्न विधामा सम्मानित गरेको हो ।
ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर समय सान्दर्भिक नविनतम् सेवा प्रदान गर्दै आइरहेको बैंकलाई ग्लोबल फाइनान्सबाट ‘नेपालको उत्कृष्ट बैंक’को सम्मानले आगामी दिनमा बैंकलाई रचनात्मक सेवा प्रदान गर्न थप उत्साहित बनाएको बैंकको भनाइ छ ।
ग्राहकको माया, कर्मचारीको लगनशीलता, शेयरधनी, नियमनकारी संस्था तथा अन्य सरोकारवालाको मार्गदर्शनले बैंकलाई उत्कृष्ट बैंकको रूपमा स्थापित गरेको बैंकको भनाइ छ ।