वर्तमान समयमा लगानीलाई परम्परागत र वैकल्पिक गरी दुई वर्गमा बाँडिएको छ । परम्परागत लगानी विधिमा व्यक्तिगतरूपमा शेयर, डिबेञ्चर र निक्षेप आदिमा लगानी गरिन्छ भने वैकल्पिक लगानी विधिमा कोष बनाएर कोषमार्फत लगानी गरिन्छ । परम्परागत लगानीमा अत्यधिक नियमन हुन्छ भने वैकल्पिक लगानीमा न्यून वा नाम मात्रको नियमन हुन्छ । यस्तो लगानीको व्यवस्थापन कोष व्यवस्थापकले गर्छन् । कोषमा लगानी गर्नेलाई एकाइधनी भनिन्छ । कोषले गरेको लगानीबाट प्राप्त नाफा एकाइधनीले कोषमा गरेको लगानीको अनुपातमा प्राप्त गर्छन् । यस्ता कोषमा उच्च जोखिम र लाभ दुवै लिन सक्नेले मात्र लगानी गर्छन् । यस्ता कोषको नियमन नेपाल धितोपत्र बोर्डले गर्छ । बोर्डले यस्ता कोष सञ्चालन र व्यवस्थापन सम्बन्धमा नियमन गर्न विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ जारी गरेको छ ।
कोष र कोष व्यवस्थापक
वैकल्पिक लगानी कोषको प्रकृति झन्डै–झन्डै सामूहिक लगानी कोष (म्युचुअल फन्ड) को जस्तै हुन्छ । म्युचुअल फन्डमा अत्यन्त न्यून आय भएका सर्वसाधारणदेखि जोसुकैले लगानी गर्न सक्छन् । म्युचुअल फन्डमा कोष प्रवद्र्धक, योजना व्यवस्थापक, डिपोजिटरी, सुपरिवेक्षक र एकाइधनी गरी पाँचओटा पक्ष वा साझेदार हुन्छन् । यस्ता फन्ड अवधि तोकिएका बन्दमुखी र अवधि नतोकिएका खुलामुखी गरी दुई प्रकारका हुन्छन् । वैकल्पिक लगानी कोषका साझेदारमा कोष व्यवस्थापक, कोष र एकाइधनी गरी तीनओटा पक्ष हुन्छन् । नियमावलीको नियम २(ङ) अनुसार ‘कोष व्यवस्थापक’ भन्नाले वैकल्पिक (विशिष्टीकृत) लगानी कोष व्यवस्थापन गर्ने उद्देश्य भएको कोष व्यवस्थापक सम्झनुपर्छ भनेको छ । नियमावलीको नियम ३ अनुसार कोषको स्थापना तथा सञ्चालन गर्न चाहनेले बोर्डबाट कोष व्यवस्थापकको अनुमति लिनुपर्ने हुन्छ ।
कोष दर्ता तथा निष्कासनका लागि अनुमति प्राप्त भएपश्चात् कोषले रकम सड्ढलनका लागि लक्षित लगानीकर्ता पहिचान गरी ‘परिपत्र विधि’ वा ‘व्यक्तिगत सम्पर्कका माध्यम’बाट एकाइ निष्कासन गर्नुपर्छ ।
कोष व्यवस्थापक हुनका लागि नियमावलीको नियम ७(१) अनुसार (१) प्रचलित कानूनबमोजिम स्थापना भएको सङ्गठित संस्था, (२) प्रबन्धपत्र तथा नियमावलीमा कोष व्यवस्थापकको कार्य गर्ने उद्देश्य रहेको, (३) कम्तीमा २ करोड रुपैयाँ चुक्ता पूँजी भएको, (४) कोष व्यवस्थापक तथा त्यसका सञ्चालक वा कार्यकारी प्रमुखले कुनै प्रकारको ठगी वा जालसाजी अपराधमा सजाय नपाएको, (५) कोष व्यवस्थापकका सञ्चालक वा कार्यकारी प्रमुखले नैतिक पतन देखिने फौज्दारी कसुरमा सजाय नपाएको, (६) धितोपत्रको सार्वजनिक निष्कासन गरी सर्वसाधारणबाट पूँजी आह्वान गरी पूँजी सङ्कलन गरेका कोष व्यवस्थापकमध्ये धितोपत्रको कारोबारका लागि आवश्यक व्यवस्था नगरेका, बोर्डको सम्पर्कमा नआएका कोष व्यवस्थापक (भ्यानिसिङ कम्पनी), सूचीकरण खारेजीको कारबाहीमा परेका वा बोर्डलाई कोष व्यवस्थापकको सञ्चालन सम्बन्धमा प्रचलित कानूनबमोजिम दिनुपर्ने सूचना, जानकारी वा विवरण नदिई बसेका भनी बोर्डको अभिलेखमा रहेका कोष व्यवस्थापक वा त्यस्तो कोष व्यवस्थापकको कार्यकारी प्रमुख वा सञ्चालकको संलग्नता नरहेको, (७) सञ्चालक वा कार्यकारी प्रमुख, कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको तथा कुनै नियामक निकायको कानून उल्लङ्घनमा कारबाहीमा नपरेको वा कारबाहीमा परेको भए २ वर्ष पूरा भएको हुनुपर्ने योग्यता तोकिएको छ ।
विदेशी व्यवस्थापक र लगानीकर्ता
स्वदेशी मात्र होइन, विदेशी कम्पनीले पनि नेपालमा कोष व्यवस्थापकको काम गर्न सक्छन् । नियम ३(१क) अनुसार विदेशमा दर्ता भएको कोष वा कोष व्यवस्थापकले प्रचलित नेपाल कानूनको अधीनमा रही त्यस्तो कोष वा कोष व्यवस्थापकको पूर्ण वा अधिकांश स्वामित्वमा नेपालमा कोष स्थापना वा कोष व्यवस्थापनको कार्य गर्नसक्ने व्यवस्था छ । नियम ३(१ख) मा उपनियम (१क) बमोजिमको कोष व्यवस्थापकले कोष व्यवस्थापनको कार्य गर्न नेपालमा सहायक कम्पनी स्थापना गरी नियमावलीबमोजिम बोर्डबाट अनुमति लिनुपर्ने हुन्छ । नियम ३ (१ग) मा उपनियम ३ (१क) बमोजिमको कोष वा कोष व्यवस्थापकले बोर्डबाट अनुमति प्राप्त स्थानीय कोष व्यवस्थापकमार्फत आफ्नो कोष परिचालन गर्न नियमावलीबमोजिम बोर्डबाट अनुमति लिनुपर्ने हुन्छ । नियमावलीको नियम २(ठ) अनुसार ‘कोष’ भन्नाले बोर्डमा दर्ता भएको प्राइभेट इक्वीटी, भेञ्चर क्यापिटल, हेज फन्ड वा यस्तै प्रकारका अन्य विशिष्टीकृत लगानी कोष सम्झनुपर्छ भनिएको छ । त्यस्तै, सोही नियमावलीको नियम २(ख) मा ‘एकाइधनी’ भन्नाले कोषको एक वा एकभन्दा बढी एकाइमा स्वामित्व भई दर्ता किताबमा नाम उल्लेख भएको योग्य लगानीकर्ता सम्झनुपर्छ भनेको छ । नियम २(क) अनुसार ‘एकाइ’ भनेको कोषअन्तर्गत निष्कासन गरिने धितोपत्रको एकाइ हो । योग्य लगानीकर्ता को हुन् भन्ने सन्दर्भमा नियमावलीको नियम २२ मा उल्लेख गरिएको छ । यसमा (१) बैंक तथा वित्तीय संस्था, (२) बीमा कम्पनी, (३) अवकाश कोष, कल्याणकारी कोष, सञ्चयकोष, नागरिक लगानी कोषजस्ता प्रचलित कानूनबमोजिम मान्यता प्राप्त कोष, (४) द्विपक्षीय वा बहुपक्षीय अन्तरराष्ट्रिय संस्थागत लगानीकर्ता वा विदेशी व्यक्ति वा विदेशी फर्म, कम्पनी वा विदेशी संस्थागत लगानीकर्ता वा विदेशमा दर्ता भएको कोष वा विदेशी कोष व्यवस्थापक वा अन्य यस्तै प्रकारको सङ्गठित संस्था, (५) लगानी गर्नसक्ने उद्देश्य भएका प्रचलित कानूनबमोजिम नेपालमा स्थापना भएका संस्था, (६) नेपाली नागरिक तथा गैरआवासीय नेपाली, (७) बोर्डले समयसमयमा तोकिदिएका अन्य निकाय वा व्यक्ति पर्छन् । यसका लगानीकर्तामा उच्च जोखिम र नाफा लिनसक्ने व्यक्ति वा संस्था जुनसुकै हुन सक्छन् ।
वैकल्पिक कोषका किसिम
नेपालमा वैकल्पिक लगानी कोषअन्तर्गत चार किसिमका कोष दर्ता गरि सञ्चालन गर्न सकिन्छ । नियम १४(२) अनुसार (१) प्राइभेट इक्वीटी फन्ड, (२) भेञ्चर क्यापिटल फन्ड, र (३) हेज फन्ड र (४) बोर्डले समयसमयमा तोकिदिएको अन्य कोष सञ्चालन गर्न सकिने व्यवस्था छ । नियमावलीमा ४ किसिमको कोष सञ्चालन गर्न सकिने उल्लेख भए पनि अहिले प्राइभेट इक्वीटी र भेन्चर क्यापिटल मात्र बोर्डले दर्ता गर्छ । नियमावलीको नियम ३५ मा हेज फन्ड सञ्चालन सम्बन्धमा बोर्डले निर्देशिका बनाई थप व्यवस्था गरी लागू गर्न सक्नेछ भनिएको छ । अहिले अधिकतर प्राइभेट इक्विटी फन्ड दर्ता भएका छन् । चौथो कुन कुन हुन सक्छन् भन्ने सम्बन्धमा कुनै उल्लेख छैन ।
स्वदेशी मात्र होइन, विदेशी कम्पनीले पनि नेपालमा कोष व्यवस्थापकको काम गर्न सक्छन् । नियम ३(१क) अनुसार विदेशमा दर्ता भएको कोष वा कोष व्यवस्थापकले प्रचलित नेपाल कानूनको अधीनमा रही त्यस्तो कोष वा कोष व्यवस्थापकको पूर्ण वा अधिकांश स्वामित्वमा नेपालमा कोष स्थापना वा कोष व्यवस्थापनको कार्य गर्नसक्ने व्यवस्था छ ।
नियमावलीको नियम १४(२) स्पष्टिकरण खण्डमा (१) ‘प्राइभेट इक्वीटी फन्ड’ भन्नाले कोषको उद्देश्य प्राप्तिका लागि सर्वप्रथम स्वपूँजी वा साधारण शेयरमा परिवर्तनीय धितोपत्र वा ऋणको स्वरूप भएको उपकरण (डेट इन्स्ट्रुमेन्ट) वा ऋण वा स्वपूँजीसँग सम्बद्ध अन्य उपकरणमा लगानी गर्ने कोष वा लगानी गर्ने कम्पनीका साझेदारको इच्छाबमोजिम लगानी गर्ने कोष सम्झनुपर्छ । तर, ऋणको स्वरूप भएको उपकरण (डेट इन्स्ट्रुमेन्ट) वा ऋणमा गरिने लगानी रकमको प्रतिशत बोर्डले तोकेबमोजिम हुने, (२) ‘भेन्चर क्यापिटल फन्ड’ भन्नाले धितोपत्र सूचीकरण नभएका, सञ्चालनको शुरुआती क्रममा रहेका वा सञ्चालनको प्रक्रिया अगाडि बढिसकेका वा सञ्चालनमा रहेका नवीनतम ज्ञान, शीप र क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बद्ध व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन गर्न शेयर स्वामित्व पूँजी वा ऋणको स्वरूप भएको उपकरण (डेट इन्स्ट्रुमेन्ट) वा ऋण लगानी गर्ने कोषलाई सम्झनुपर्छ । तर, ऋणका स्वरूप भएको उपकरण (डेट इन्स्ट्रुमेन्ट) वा ऋणमा गरिने लगानी रकमको प्रतिशत बोर्डले तोकेबमोजिम हुने र (३) ‘हेज फन्ड’ भन्नाले लगानीको उच्च जोखिम रहेको जुनसुकै क्षेत्रमा लगानी गर्नसक्ने गरी स्थापना भएको कोषलाई सम्झनुपर्छ भनिएको छ ।
अनुमतिका लागि कागजात
कोष व्यवस्थापकको अनुमति लिन (१) कम्पनी दर्ता प्रमाणपत्र, (२) प्रबन्धपत्र तथा नियमावली (३) प्रचलित कानूनबमोजिम निर्धारित ढाँचा र लेखामानअनुसार तयार गरी लेखापरीक्षण भएको अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण तथा कामकारबाहीसम्बन्धी वार्षिक प्रतिवेदन, तर, संस्थापना भई आर्थिक वर्ष पूरा नभएको संस्थाको हकमा व्यवस्थापनद्वारा प्रमाणित आवधिक वित्तीय विवरण (४) सञ्चालक समितिको निर्णय, (५) प्रस्तावित कोष व्यवस्थापकको सञ्चालक वा कार्यकारी प्रमुखउपर धितोपत्रसम्बन्धी कानून वा अन्य प्रचलित कानूनबमोजिम कुनै कारबाही भएको भए त्यससम्बन्धी विवरण, (६) संस्थापकले लिएको शेयर स्वामित्व तथा शेयरको चुक्ता रकमसम्बन्धी विवरण, (७) चुक्ता पूँजीको ५ प्रतिशत वा त्योभन्दा बढी स्वामित्व ग्रहण गर्ने शेयरधनीको नाम, पूरा ठेगाना, सम्पर्क टेलिफोन तथा ग्रहण गरेको स्वामित्वको विवरण, (८) संस्थाको संगठन तथा कार्य प्रणालीसम्बन्धी विवरण, (९) कार्यालयको स्थान र क्षेत्रफल, कार्यालय उपकरण तथा सञ्चार साधन र जनशक्तिसम्बन्धी विवरण, (१०) अन्य कम्पनी वा सङ्गठित संस्थामा स्वामित्व रहेको भए तत्सम्बन्धी विवरण, (११) संस्थापक शेयरधनीहरू कालोसूचीमा नपरेको पत्र, (१२) संस्थाको शेयरधनी विदेशी कोष वा कोष व्यवस्थापक वा अन्य संस्था भएमा नियमावलीमा उल्लिखित कागजातका अतिरिक्त सम्बद्ध देशको कानूनबमोजिम कोष वा कोष व्यवस्थापक वा संस्था दर्ता भएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र प्रबन्धपत्र तथा नियमावली वा संस्था स्थापनासम्बन्धी कागजातको प्रमाणित प्रतिलिपिसमेत, (१३) संस्थाको शेयरधनी विदेशी कोष वा कोष व्यवस्थापक वा अन्य संस्था भएमा माथि उल्लिखित कागजातका अतिरिक्त उक्त संस्थाले विदेशमा व्यवस्थापन गरिरहेको कोषको आकार खुलेको कागजातको प्रमाणित प्रतिलिपि, (१४) बोर्डले आवश्यक देखेको अन्य कागजात तथा विवरणहरू पेश गर्नुपर्छ । नियम ४ अनुसार ३५ दिनभित्र आवश्यक जाँचबुझ गरी अनुमति दिन उपयुक्त देखिए बोर्डले कोष व्यवस्थापकको दर्ता प्रमाणपत्र उपलब्ध गराउँछ ।
कोष दर्ता तथा निष्कासन
नियम १४(४) मा कुनै पनि कोष दर्ता तथा निष्कासनका लागि कोष व्यवस्थापकले तोकिएको ढाँचामा दस्तुरसहित बोर्डमा निवेदन दिनुपर्छ । यसरी निवेदन परेपछि बोर्डले आवश्यक जाँचबुझ गरी कोष दर्ता तथा निष्कासन गर्न उपयुक्त देखिएमा कोष दर्ता तथा निष्कासन गर्न अनुमति दिन्छ । यसरी कोष दर्ता तथा निष्कासनका लागि अनुमति प्राप्त भएपश्चात् कोषले रकम सङ्कलनका लागि लक्षित लगानीकर्ता पहिचान गरी ‘परिपत्र विधि’ वा ‘व्यक्तिगत सम्पर्कका माध्यम’बाट एकाइ निष्कासन गर्नुपर्छ । कोषले बोर्डबाट एकाइ निष्कासनको स्वीकृति पाएको मितिले ३ महीनाभित्र शुरू गरी २ वर्षभित्र सम्पन्न गरिसक्नुपर्छ । नियमावलीमा जुनसुकै कुरा लेखिएको भए तापनि कोषले अन्तरराष्ट्रिय संघ, संस्था वा बहुपक्षीय संस्थागत लगानीकर्तालाई ऋणका रूपमा समेत एकाइ निष्कासन गर्न सक्छ । साथै, अन्तरराष्ट्रिय संघसंस्था वा बहुपक्षीय संस्थागत लगानीकर्तालाई निष्कासन गरिएको एकाइको रकम सङ्कलन गर्दा विधानमा समय र किस्ताको व्यवस्था गरी सोहीबमोजिमको समयमा किस्ता सङ्कलन गर्न सक्नेछ । नियम २ (थ) अनुसार विधान भन्नाले कोष स्थापना र सञ्चालन सम्बन्धमा गरिएको व्यवस्थाको दस्तावेजलाई सम्झनुपर्छ ।
नियमावलीको नियम १४क (१) अनुसार विदेशमा दर्ता भएका कोषले नेपालमा कोष दर्ता गर्न शुल्कसहित बोर्डमा निवेदन दिनुपर्छ । यस्ता कोषले दर्ता हुन निवेदन दिँदा (१) सम्बद्ध देशको कानूनबमोजिम कोष दर्ता भएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि (२) सम्बद्ध देशको कानूनबमोजिमको कोषको विधानको प्रमाणित प्रतिलिपि र त्यसको प्रमाणित नेपाली अनुवाद, (३) अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, (४) कोष दर्ता तथा निष्कासन सम्बन्धमा विदेशी कम्पनीको सञ्चालक समितिले गरेको निर्णयको प्रमाणित प्रतिलिपि र त्यसको प्रमाणित नेपाली अनुवाद, (५) बोर्डबाट नियम ४ बमोजिम दर्ता प्रमाणपत्र प्राप्त गरेको कोष व्यवस्थापकसँग गरिएको सम्झौतापत्रको प्रमाणित प्रतिलिपि, (६) विदेशबाट भित्त्याइने रकम, र (७) बोर्डले समय–समयमा तोकेका अन्य विवरणहरू पेश गर्नुपर्छ । बाँकी आगामी अङ्कमा
लेखक धितोपत्रसम्बन्धी अध्येता कर्पोरेट अधिवक्ता हुन् ।