काठमाडौं । नेपाल राष्ट्र बैंकले एकै व्यक्तिले ऋण लिन पाउने लघुवित्तको संख्या सीमित गरेपछि लघुवित्तका सदस्य तथा ऋणीको संख्या घट्न थालेको छ । लघुवित्तमा समस्या देखिन थालेपछि राष्ट्र बैंकले २०७९ कात्तिकमा एउटा मात्र संस्थाबाट ऋण लिने पाउने र लघुवित्तबाट ऋण लिएकाले वाणिज्य बैंक र वित्तीय संस्थाबाट लिन नपाउने व्यवस्था गरेको थियो ।
उक्त प्रावधानमा थोरै लचिलो बन्दै राष्ट्र बैंकले २०८१ साउन दोस्रो साता निर्देशन जारी गर्दै दुई ओटासम्म लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था गरेको छ । यो व्यवस्थाको असर लघुवित्तका सदस्य र ऋणीको संख्यामा देखिएको हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८० असारसम्ममा लघुवित्त वित्तीय संस्थामा कुल सदस्य संख्या ६० लाख १६ हजार रहेकोमा २०८१ असारसम्ममा ५९ लाख ९५ हजारमा झरेको छ । सदस्यहरूमा निक्षेपकर्ता र ऋण लिने ग्राहक दुवै पर्छन् । सोही अवधिमा लघुवित्तबाट ऋण लिनेको संख्या पनि २९ लाख ८४ हजारबाट २९ लाख ६४ हजारमा झरेको छ ।
- २०७९ कात्तिकमा एउटा मात्र लघुवित्तबाट ऋण लिन पाउने व्यवस्था
- २०८१ साउनमा २ ओटासम्म लघुवित्तबाट ऋण लिन पाउने व्यवस्था
- सदस्य शून्य दशमलव ३४ र ऋणी १० दशमलव ७५ प्रतिशतले घटे
- एकै व्यक्तिले दुई दर्जनभन्दा बढी लघुवित्तबाट ऋण लिएको प्रमाण
- एउटा संस्थाको ऋण तिर्न अर्को संस्थाबाट ऋण लिने प्रवृत्ति हाबी
सदस्य संख्या शून्य दशमलव ३४ प्रतिशतले घट्दा ऋणी संख्या १० दशमलव ७५ प्रतिशतले घटेको राष्ट्र बैंकले बताएको छ । एन.आई.सी. एशिया लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलाराज शर्मा जोशी राष्ट्र बैंकले एकैपटक दुईओटा मात्र संस्थासँग कारोबार गर्न पाइने भनेर सीमा तोक्दा समस्या भएको बताउँछन् ।
‘एकैपटक दुईओटा मात्र संस्थासँग कारोबार गर्न पाउने भनेर सीमा तोक्दा संस्थाहरूका निष्क्रिय सदस्य बढ्दै गएको छ र यसको व्यवस्थापनमा गाह्रो भएको छ,’ उनले आर्थिक अभियानसँग भने ।
लघुवित्तमा देखिएका समस्या समाधान गर्न राष्ट्र बैंकको अनुसन्धान विभागका तत्कालीन कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठको संयोजकत्वमा रहेको समितिले गरेको अध्ययनमा एकै व्यक्तिले दुई दर्जनभन्दा बढी लघुवित्तबाट ऋण लिएको भेटिएको थियो । एउटा संस्थाबाट लिएको ऋण तिर्न अर्को संस्थाबाट ऋण लिने प्रवृत्तिका कारण सर्वसाधारण ऋणमा फस्दै गएको समितिको निष्कर्षका आधारमा राष्ट्र बैंकले सीमा तोकेको हो । यसरी ऋणमा फस्दै गएपछि लघुवित्तको ऋण मिनाहा गर्नुपर्ने भन्दै पटकपटक आन्दोलनहरू भएका छन् ।
लघुवित्तले सामूहिक जमानीमा ५ लाख र धितोमा ७ लाख रुपैयाँसम्म ऋण दिन पाउने व्यवस्था छ । यसअघि धितोमा १५ लाख रुपैयाँसम्म पुगेको कर्जा सीमा लघुवित्तमा समस्या देखिन थालेपछि घटाइएको हो ।
निर्देशनमा लघुवित्त संस्थाहरूले प्रतिपरिवार २५ हजार रुपैयाँसम्म कर्जा पारिवारिक जमानीमा समेत प्रदान गर्न सक्ने व्यवस्था गरेको छ ।
बैंक, वित्तीय संस्थाको पहुँचमा पुग्न नसक्ने गरीब तथा विपन्न वर्गलाई वित्तीय सेवा पुर्याउन नेपालमा लघुवित्त कार्यक्रम शुरू गरिएको हो । लक्षित वर्गको समूह बनाएर सामूहिक जमानीमा ऋण लगानी गर्ने लघुवित्तहरू पछिल्लो समय नाफामुखी मात्र भएको भन्दै आलोचना भइरहेको छ ।
लघुवित्तमा समस्या देखिएपछि राष्ट्र बैंकले २०७९ चैतमा श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति बनाएको थियो । गत भदौमा बुझाएको समितिको प्रतिवेदनमा लघुवित्तको कारोबारमा विकृति बढेको भन्दै प्रभावकारी नियमनका लागि सुझाव दिएको छ ।
लघुवित्त संस्थाहरूबीचको अत्यधिक प्रतिस्पर्धा कम गर्ने उद्देश्यले राष्ट्र बैंकले लघुवित्तको संख्या घटाउन मर्जरमा प्रोत्साहनसमेत गर्दै आएको छ । फलस्वरूप सय हाराहारी पुगेको लघुवित्तको संख्या २०८१ असारमा ५२ ओटामा झरिसकेको छ । त्यसमध्ये ३ ओटा थोक कर्जा प्रदायक संस्था छन् । बाँकी ४९ ओटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्था हुन् ।