काठमाडौं । चाडपर्वलाई लक्ष्य गरी नेपाल राष्ट्र बैंकले सुकिला नोट मात्र साटिदिने नीति लिएपछि त्यस्ता नोट सटहीमा सर्वसाधारणको आकर्षण घटेको पाइएको छ । राष्ट्र बैंकले यस वर्ष नयाँ नोट वितरण नगरी सुकिला खुद्रा नोट उपलब्ध गराएपछि नोट सटही विगतको तुलनामा कम भएको हो ।
केन्द्रीय बैंकका प्रवक्ता रामु पौडेलका अनुसार मंगलवारसम्ममा राष्ट्र बैंकका कार्यालयबाट १ अर्ब ३१ करोड रुपैयाँ बराबरको सुकिला सटही भएको छ । नयाँ नोट उपलब्ध नगराएपछि नोट सटही काउन्टरमा विगतको जस्तो भीडभाड छैन । बैंक, वित्तीय संस्थाबाट भएको सटहीको तथ्यांक प्राप्त नभए पनि विगत वर्षको तुलनामा नोट सटहीमा आकर्षण कम देखिएको प्रवक्ता पौडेल बताए ।
- विगत दशैंमा नयाँ नोट वितरण हुने गरेकोमा यसपालि एकपटक प्रयोगमा आइसकेका नोट साट्ने व्यवस्था
- विद्युतीय कारोबारलाई अझ बढी प्रोत्साहन र नगद प्रयोगलाई निरुत्साहित गर्न नयाँ नीति
गतवर्ष पनि राष्ट्र बैंकले दशैंको अवसरमा बजारमा १६ अर्ब रुपैयाँ नयाँ खुद्रा नोट पठाएको थियो । यस वर्ष त्यसको एक तिहाइ मात्र नोट सटही भएको केन्द्रीय बैंकको अनुमान छ । राष्ट्र बैंकले यस वर्ष असोज १३ गतेदेखि २२ गतेसम्म सुकिला नोट साट्न पाउने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले हरेक वर्ष चाडपर्वलाई लक्ष्य गरेर नयाँ नोट सटही गर्दै आए पनि यस वर्ष भने एकपटक प्रयोगमा आइसकेका नोट साट्न पाइने व्यवस्था गरेको हो । नोट सटहीका लागि ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका १/१ बन्डल गरी प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँसम्मको सीमा तोकेको थियो ।
हरेक वर्ष नयाँ नोट बजारमा पठाउने र त्यसको प्रयोग नहुँदै पुन: नयाँ नोट बजारमा पठाउँदा साना दरको नयाँ नोट व्यवस्थापनमा समेत समस्या आएपछि केन्द्रीय बैंकले यस वर्ष आफ्नो नीति परिवर्तन गरेको हो । यसैगरी पछिल्लो समय विद्युतीय कारोबार पनि बढ्दै गएको र नगद प्रयोगलाई निरुत्साहित गर्न समेत नयाँ नोट सहटी नीति परिवर्तन गरिएको प्रवक्ता पौडेलले जानकारी दिए ।
राष्ट्र बैंकको तथ्यांकअनुसार २०८१ भदौसम्ममा ६ खर्ब ६५ अर्ब रुपैयाँ नगद बजारमा चलनचल्तीमा छ । असारमा ६ खर्ब ८० अर्ब रुपैयाँ नगद चलनचल्तीमा रहेकोमा भदौमा केही कमी आएको हो ।
निक्षेप ६६ खर्ब नाघ्यो
बजारमा नगद प्रवाहको वृद्धिसँगै बैंकिङ प्रणालीमा निक्षेप ६६ खर्ब रुपैयाँ नाघेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार असोज १९ गतेसम्म कुल निक्षेप ६६ खर्ब १३ अर्ब रुपैयाँ रहेकोमा एकै दिनमा १२ अर्ब रुपैयाँ थपिएर असोज २० गते आइतवारसम्म ६६ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ ।
दशैंको चहलपहलका कारण आर्थिक गतिविधि बढ्दा बैंकमा निक्षेप बढेको अनुमान गरिएको छ । यसैगरी बैंकहरूको कर्जा प्रवाह पनि बढेको छ । आइतवार मात्र बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह ८ अर्ब रुपैयाँले बढेर कुल कर्जा प्रवाह ५२ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार आइतवारसम्ममा बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७८ दशमलव १५ प्रतिशत कायम भएको छ । असोज १९ गतेसम्म सीडी रेसियो ७८ दशमलव १६ प्रतिशत थियो । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन सक्ने भएकाले उनीहरूसँग ७ खर्ब ८५ अर्ब रुपैयाँ थप कर्जा दिने क्षमता छ ।