काठमाडौं । बैंक, वित्तीय संस्थामा पहुँच नहुने गरीब तथा विपन्न वर्गलाई वित्तीय पहुँच दिँदै उनीहरूको उत्थान तथा गरीबी निवारणका लागि शुरू गरिएको लघुवित्त कार्यक्रमलाई पुन: परिभाषित गर्न सरोकारवालाले जोड दिएका छन् । लघुवित्त कार्यक्रमबारे राज्यको स्पष्ट दृष्टिकोण नहुँदा लघुवित्त वित्तीय संस्थाहरूले अधिक नाफा कमाएको, गरीबको शोषण गरेको जस्तो आरोप लाग्न थालेको र संगठित रूपमा विरोधसमेत हुन थालेको भन्दै यसलाई पुन: परिभाषित गर्न माग गरे ।
न्यू बिजनेश एज लिमिटेडले आइतवार काभ्रेको धुलिखेलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष तथा विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत वसन्त लम्सालले सरकारले लघुवित्त नीतिमार्फत यसलाई परिभाषित गर्न जरुरी देखिएको बताए । उनले नेपालमा सञ्चालन भइरहेको लघुवित्त कार्यक्रम ‘हाइब्रिड’ मोडलको भएको भन्दै यसको भूमिकाबारे नीतिगत स्पष्टताको आवश्यकता औंल्याए । ‘हाम्रोमा लघुवित्त कार्यक्रम कसरी अघि बढ्ने भन्नेबारे कुनै नीतिगत स्पष्टता छैन,’ उनले भने, ‘जब जब समस्या आउँछ त्यसपछि मात्र यी संस्थाले शोषण गरे भनेर विरोध हुन्छ ।’ नेपाल राष्ट्र बैंकको प्रत्यक्ष नियमनमा रही उसले तोकेका मापदण्ड पूरा गरेर नै लघुवित्त संस्थाहरू सञ्चालन भएकाले किन नाफा गरिस् भन्नु गलत भएको उनको भनाइ थियो ।
कार्यक्रममा एन.आई.सी. एशिया लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलाराज शर्मा जोशीले लघुवित्त संस्थाहरूको अधिक कर्जा लगानीले अहिले समस्या भएको बताए । लघुवित्तहरूले कोभिडको समयमा समूह मोडललाई छोेडेको भन्दै यसलाई निरन्तरता दिन उनले सुझाव दिए । स्वरोजगार लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोजकृष्ण उप्रेतीले लघुवित्त वित्तीय संस्थाहरू पब्लिक कम्पनी भएको र शेयरधनीलाई लाभांश दिनुपर्ने भएकाले नाफाको दबाब हुने बताए ।
समता घरेलु लघुवित्तका प्रमुख कार्यकारी अधिकृत मदन घिमिरेले पनि लघुवित्तलाई पुन: परिभाषित गर्न आवश्यक रहेको बताए । लघुवित्त नाफामूलक वा गैरनाफामूलक भन्ने द्विविधाले द्वन्द्व सृजना गरेको र यसबारे सरकारले स्पष्ट पार्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा नेशनल माइक्रोफाइनान्सका सहायक प्रमुख कार्यकारी अधिकृत देवेन्द्रबहादुर बस्नेतले नेपालमा वित्तीय पहुँच र साक्षरता बढाउन लघुवित्तको योगदान ठूलो रहेको बताए । पछिल्लो समय वित्तीय क्षेत्रमा पनि राजनीतीकरण हुँदै गएको र यसले अराजकता बढेको भन्दै यसलाई समयमै नियन्त्रण गर्न आवश्यक रहेको उनले बताए । छलफलको सहजीकरण न्यू बिजनेश एज लिमिटेडका प्रधान सम्पादक मदन लम्सालले गरेका थिए ।