काठमाडौं । बैंक, वित्तीय संस्थामा निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह हुन नसकेपछि निक्षेप ब्याजदरमा घट्दो प्रवृत्ति कायमै देखिएको छ । अधिकांश वाणिज्य बैंकले कात्तिक महीनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले बुधवार प्रकाशित गरेको सूचनाअनुसार १० ओटा बैंकले असोजको तुलनामा व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन् । ९ ओटाले ब्याजदर स्थिर राखेका छन् । सानिमा बैंकले भने निक्षेपको ब्याजदर बढाएको छ ।
कल निक्षेपबाहेक ब्याज प्रदान गरिने सबै प्रकारका स्वदेशी मुद्राका निक्षेप खातामा दिइने अधिकतम र न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत बिन्दुभन्दा बढी बनाउन नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ । त्यसो हुँदा बैंकहरूले बचतको ब्याजदर पनि मुद्दती निक्षेपको ब्याजदरसँग तादात्म्य मिल्ने गरी तलमाथि गर्छन् ।
हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर सबैभन्दा बढी शून्य दशमलव ७५ प्रतिशत बिन्दुले घटाएको छ । यो बैंकले कात्तिकका लागि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६ दशमलव २५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असोजमा हिमालयन बैंकको यस्तो ब्याजदर ७ प्रतिशत थियो ।
सानिमा बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर शून्य दशमलव २५ प्रतिशत बिन्दुले बढाएर ६ दशमलव १५ प्रतिशत पुर्याएको छ । कात्तिकका लागि सबैभन्दा बढी ब्याजदर माछापुच्छ्रे बैंकले ७ प्रतिशत र सबैभन्दा कम कृषि विकास बैंकले ५ दशमलव ७५ प्रतिशत तोकेको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल बैंकहरू अधिक तरलताको अवस्थामा रहेकाले निक्षेप ब्याजदरको घट्दो प्रवृत्ति कायमै रहेको बताउँछन् । तर, चालू आर्थिक वर्ष (आव) लागेपछि कर्जा प्रवाह बढ्न थालेकाले अब ब्याजदर धेरै घट्ने सम्भावना नरहेको उनको भनाइ छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आवको भदौसम्ममा बैंक, वित्तीय संस्थाहरूमा रहेको निक्षेप शून्य दशमलव ५ प्रतिशत बढ्दा निजीक्षेत्रमा प्रवाह भएको कर्जा १ दशमलव ४ प्रतिशतले बढेको छ । चालू आवको पहिलो २ महीनामा बैंक, वित्तीय संस्थाहरूले ७३ अर्ब ३९ करोड रुपैयाँ बराबर थप कर्जा निजीक्षेत्रमा प्रवाह गरेको राष्ट्र बैंकको प्रतिवेदनले देखाउँछ । गत आवको उक्त अवधिमा ३३ अर्ब ६० करोड रुपैयाँ मात्र निजीक्षेत्रमा कर्जा प्रवाह भएको थियो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलमार्फत ४ खर्ब २४ अर्ब ७५ करोड र स्थायी निक्षेप सुविधामार्फत ६२ खर्ब ७० अर्ब ४० करोड गरी कुल ६६ खर्ब ९५ अर्ब १५ करोड रुपैयाँ तरलता प्रशोचन गरिसकेको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले हरेक महीना लागू गर्ने ब्याजदर अघिल्लो महीनाको अन्तिम दिन सार्वजनिक सूचनामार्फत जानकारी गराउनुपर्छ । यसैगरी ब्याजदर एकपटकमा १० प्रतिशत मात्र घटबढ गर्न पाइने व्यवस्था छ ।
बैंकहरूमा तरलताको अवस्था सहज हुँदै गएपछि गतवर्ष साउनमा नेपाल बैंकर्स संघले ब्याजदर निर्धारणमा भद्र सहमति अन्त्य गर्दै बैंकहरूले आफूखुशी तोक्ने निर्णय गरेको थियो । त्यसयता बैंकहरूले निक्षेपको ब्याजदर क्रमश: घटाउँदै आएका छन् ।
निक्षेपको ब्याजदर घटेसँगै बैंकहरूको पूँजीमा लागत कम भई कर्जाको ब्याजदर पनि सस्तो भएको छ । राष्ट्र बैंकका अनुसार २०८१ भदौमा वाणिज्य बैंकहरूको औसत आधारदर ७ दशमलव ४९ प्रतिशतमा झरेको छ । २०८० भदौमा वाणिज्य बैंकहरूको औसत आधारदर १० दशमलव १४ प्रतिशत थियो ।
यसैगरी २०८१ भदौमा वाणिज्य बैंकहरूको कर्जाको औसत ब्याजदर ९ दशमलव ५२ प्रतिशत, विकास बैंकहरूको १० दशमलव ८९ प्रतिशत र फाइनान्स कम्पनीहरूको १२ दशमलव १४ प्रतिशत कायम भएको छ । २०८० भदौमा वाणिज्य बैंकहरूको कर्जाको औसत ब्याजदर १२ दशमलव २३ प्रतिशत, विकास बैंकहरूको १३ दशमलव ९९ प्रतिशत र फाइनान्स कम्पनीको १४ दशमलव ६८ प्रतिशत थियो ।