काठमाडौं । चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमाससम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सचीकृत १६ विकास बैंकमध्ये सातओटाको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ ।
विकास बैंकहरूले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सप्तकोशी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको हो । यस आधारमा यस आर्थिक वर्षमा यी सात बैंकले लाभांश दिन नसक्ने अवस्थामा देखिएका छन् । अन्तिम त्रैमाससम्म पनि यी कम्पनीको आर्थिक अवस्था सुधार नभए लगानीकर्ताको हात खाली हुने देखिन्छ ।
एनएफआरएस प्रणालीअनुसार कम्पनीले आर्जन गरेको खुद नाफालाई विभिन्न शीर्षकमा छ्ट्याएपछिको नाफा वितरणयोग्य नाफा हो । यस नाफाबाट कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछ ।
गत वर्षको नाफाबाट पनि धेरै बैंक तथा वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई लाभांश दिएका थिएनन् । तेस्रो त्रैमासिक वित्तीय विवरणलाई हेर्ने हो भने अहिले पनि ती बैंक तथा वित्तीय संस्था लाभांश दिन सक्ने अवस्थामा छैनन् । यद्यपि चौथो त्रैमासिक वित्तीय विवरण आउन बाँकी रहेकाले त्यो बेलासम्म यी कम्पनीको वित्तीय अवस्था सुधार हुन पनि सक्छ ।
तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सूचीकृत १६ विकास बैंकमध्ये कर्पोरेट डेभलपमेन्ट बैंकले आफ्नो वित्तीय विवरणमा वितरणयोग्य नाफा उल्लेख गरेको छैन । बाँकीमध्ये कामना सेवा बैंकको वितरणयोग्य नाफा सबैभन्दा बढी छ । यस बैंकको वितरणयोग्य नाफा तेस्रो त्रैमाससम्ममा रू. २८ करोड ७३ लाख छ । वितरणयोग्य नाफा सर्वाधिक हुने विकास बैंकमा दोस्रोमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक छ । बैंकको वितरणयोग्य नाफा रू. १४ करोड ८८ लाख रहेको छ ।
वितरणयोग्य नाफा ऋणात्मक रहेका विकास बैंकमध्ये सप्तकोशी डेभलपमेन्ट बैंकको सबैभन्दा बढी छ । उक्त बैंकको वितरणयोग्य नाफा रू. ४७ करोड ८७ लाख ऋणात्मक छ । त्यस्तै ज्योति विकास बैंकको वितरणयोग्य नाफा रू. २८ करोड ६६ लाख ऋणात्मक छ ।
शेयर मूल्य भने नारायणी डेभलपमेन्ट बैंकको सबैभन्दा बढी छ । बैंकको शेयर मूल्य प्रतिकित्ता रू. ५३६ छ । शेयर मूल्य सर्वाधिक हुने विकास बैंकको सूचीमा दोस्रोमा मितेरी डेभलपमेन्ट बैंक छ । बैंकको शेयर मूल्य प्रतिकित्ता रू.४८६ दशमलव ६ छ । शेयर मूल्य सबैभन्दा कम भने ज्योति विकास बैंकको छ । बैंकको शेयर मूल्य प्रतिकित्ता रू. २९५ छ ।
विकास बैंकको वितरणयोग्य नाफा र बिहीवारको शेयर मूल्य
कम्पनीको नाम | वितरणयोग्य नाफा रू हजारमा | बिहीवारको शेयर मूल्य रू |
कामना सेवा विकास बैंक | 287,331 | 371 |
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक | 148,885 | 391 |
गरिमा विकास बैंक | 98,794 | 364 |
महालक्ष्मी विकास बैंक | 98,605 | 328 |
लुम्बिनी विकास बैंक | 78,341 | 372 |
मितेरी डेभलपमेन्ट बैंक | 54,000 | 486.6 |
मुक्तिनाथ विकास बैंक | 10,286 | 347 |
ग्रीन डेभलपमेन्ट बैंक | 3,921 | 433 |
नारायणी डेभलपमेन्ट बैंक | -4,271 | 536 |
कणाली डेभलपमेन्ट बैंक | -25,134 | 425 |
सांग्रिला डेभलपमेन्ट बैंक | -60,194 | 318 |
सिन्धु विकास बैंक | -73,315 | 384.6 |
एक्सेल डेभलपमेन्ट बैंक | -83,152 | 391.4 |
ज्योति विकास बैंक | -286,658 | 295.9 |
सप्तकोशी डेभलपमेन्ट बैंक | -478,773 | 323 |
कर्पोरेट डेभलपमेन्ट बैंक | - | 469 |
स्रोत : तेस्रो त्रैमासिक वित्तीय विवरण र नेप्से ।