फागुन २६, रुपन्देही । प्रदेश नं ५ को राजधानी बुटवलमा शेयर बजारको कारोबार फष्टाउँदै गएको छ । व्यापारिक केन्द्र मानिएको बुटवलमा ब्रोकर (शेयर दलाल) कार्यालय स्थापना भएपछि शेयर खरीद तथा विक्रीका लागि लगानीकर्ताको चाप ह्वात्तै बढेको ब्रोकर नं ५७, आर्यनतारा इन्भेष्टमेण्ट एण्ड सेक्युरटिज प्रालिका प्रमुख टेकराज भट्टराइले जानकारी दिए । ‘हामीले शेयर साक्षरता र काउन्सिलिङको क्षेत्रमा नै धेरै काम ग¥र्यौं’, उनले भने ।
शेयर बजारमा कारोबार गर्न रुपन्देहीका विभिन्न गाउँपालिका र नगरपालिकाबाहेक प्रदेश नं ५ को परासी, गुल्मी, पाल्पा, अर्घाखाँचीलगायतका स्थानबाट बुटवलमा रहेका विभिन्न ब्रोकर कार्यालयमा शेयर लगानीकर्ताको भीड लाग्ने गरेको छ । भट्टराईले शेयर बजारमा महिला सहभागिता पनि उल्लेख्य भएको जानकारी दिँदै वाणिज्य बैङ्क र इन्स्योरेन्सको शेयर खरीदमा लगानीकर्ताको चाप बढी भएको बताएका छन् ।
‘सुधारको अवस्थामा रहेको अहिलेको शेयर बजार कता जान्छ भन्नसक्ने अवस्था छैन तर दुई दिनको परिसूचँकले सकारात्मक बाटो लिएको छ”, उनले भने । दीर्घकालीनरुपमा लगानी गर्नेलाई अहिलेको बजारको समय सदुपयोग गर्न आग्रह गर्दै शेयर लगानीकर्ताको मनोबल पनि बढ्दै गएको भट्टराईले बताए । बैङ्कको ब्याज दर र बैङ्किङ तरलताले शेयर बजार प्रभावित भएको अनुमान गर्दै उनले नयाँ लगानीकर्तालाई बुझेरमात्रै लगानी गर्न अनुरोध गरेको बताएका छन् ।
बुटवलमा आर्यनतारासहित दक्षिणकाली इन्भेष्टमेण्ट सेक्युरिटिज प्रालि (३३), लिन्च सेक्युरिटिज (४१), एसियन सेक्युरिटी (२६), मिडास सेक्युरिटिजी (२२) नम्बर ब्रोकर कार्यालयले पनि शेयर कारोबार गर्दै आएका छन् । आर्यनताराका अनुसार यो साता चार दिनको अवधिमा रू.एक करोड ६८ लाख ३७ हजार २ सय बराबरको शेयर कारोबार भएको छ भने गत साता रू.एक करोड १० लाख ६२ हजार ३ सय ५६ बराबरको शेयर कारोबार भएको थियो ।
त्यस्तै दक्षिणकाली इन्भेष्टमेण्टका प्रमुख शंकर अधिकारीले यो साता चार दिनमात्रै रू.५२ लाख २९ हजार १ सय ५८ बराबरको शेयर कारोबार भएको जानकारी दिए । गत साता सो कार्यालयले रू.३३ लाख ३४ हजार ८ सय २४ बराबरको शेयर कारोबार गरेको थियो ।
२०७३ चैत १२ गतेदेखि बुटवलमा ब्रोकर कार्यालय स्थापना भएका थिए । ब्रोकर कार्यालय स्थापनापछि शेयर कारोबारका लागि हितग्राही (डिम्याट) खाता खोल्नेको सङ्ख्या पनि बढेको बताइएको छ । रासस
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.