सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बुमा साहसिक खेल ‘बन्जी जम्प’का लागि झोलुङ्गे पुलको निर्माण गरिएको छ । हेलम्बु गाउँपालिका–१ ङिवादावामा निर्माण गरिएको झोलुङ्गे पुलमा बन्जी जम्पका अन्य संरचना तयार गरिँदै छ ।
एनएल जोशी कन्सल्टेन्सीद्वारा तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार पुल निर्माणका लागि ५ करोड ३९ लाख खर्च भएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । पुल निर्माण सकिए पनि बन्जी जम्पका थप संरचना बन्दै गरेको शेर्पाले बताए ।
‘पुलको काम अब थोरै बाँकी छ, केही दिनमै सकिन्छ,’ अध्यक्ष शेर्पाले भने । उनका अनुसार कात्तिक अन्तिमसम्ममा बनिसकेर मंसिरको दोस्रो सातादेखि सञ्चालनमा आउनेछ । झोलुङ्गे पुल निर्माण भएसँगै हेलम्बुका आधा दर्जन गाउँका बासिन्दालाई आवतजावत गर्न सहज हुने गाउँपालिकाले बताएको छ । १७३ मिटर उचाइ र ३७० मिटर लामो रहेको उक्त झोलुङ्गे पुल बञ्जी जम्पका लागि बनाइएकामध्ये नेपालकै लामो रहेको गाउँपालिकाका इञ्जिनीयर शेरबहादुर राईले दाबी गरे ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङमाथि बनेको सो पुलले हेलम्बुको मेलम्ची घ्याङ, तार्केघ्याङ, घाङ्ग्युल, नाकोते, सर्कथली लगायत बस्तीका नागरिकलाई आवतजावतमा सहज हुनेछ । काठमाडौंबाट नजिकको पर्यटकीय गन्तव्य रहेको हेलम्बुमा पुल निर्माणले पर्यटन क्षेत्रमा थप टेवा पुग्ने अध्यक्ष शेर्पाको भनाइ छ ।
बन्जी जम्पका लागि एसियाकै उत्कृष्ट स्थानको रूपमा विकास गर्न लागेको गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटकका लागि रिसोर्टको अवधारणा समेत बनाएको अध्यक्ष शेर्पाले बताए । ‘ग्रेट ट्रेल’ले निकै चर्चामा रहेको हेलम्बु बन्जी जम्प खेलले झनै चर्चित बन्ने अपेक्षा उनले गरे ।