विद्युत् अभावले कपडा उत्पादनमा ७० प्रतिशत कमी
मङ्सिर २९, काठमाडौं । ५ वर्ष बितिसक्दा पनि ललितपुर–हरिसिद्धि–ठैव फिडर लाइनको निर्माण पूरा हुन नसक्दा सो क्षेत्रका कपडा उद्योगहरू समस्यामा परेका छन् । फिडर लाइन नहुँदा विद्युत् अभावका कारण कपडा उद्योगको उत्पादनमा ७० प्रतिशतसम्म कमी आएको नेपाल कपडा उद्योग सङ्घका महासचिव रामकृष्ण महर्जनले अभियानलाई बताए । उनले भने, ‘फिडर लाइन निर्माण भएमा सो क्षेत्रका उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुने थिए ।’
हरिसिद्धि–ठैवमा करीब ७० ओटा टेक्सटायल (कपडा) उद्योग छन् । तर, विद्युत् अभावको मार सो क्षेत्रका उद्योगहरूले बढी बेहोर्नु परिरहेको स्थिति छ । लोडशेडिङ बढ्दै जाँदा उद्योगहरूमा असर पर्न थालेपछि सरकारले आर्थिक वर्ष २०६५/६६ देखि फिडर लाइनको निर्माण कार्य शुरू गरेको थियो । महर्जनले भने, ‘स्थानीय बासिन्दाबीच विवाद हुँदा फिडर लाइनको काम पूरा हुन सकेको छैन ।’
फिडर लाइनका लागि आवश्यक पर्ने कुल १ सय २५ पोलमध्ये करीब ८० राखिसकिएको छ । तीमध्ये ६० प्रतिशत पोलमा तार तान्ने काम पनि पूरा भएको छ । आर्थिक वर्ष २०६६/६७ भित्र पूरा गर्ने योजनाका साथ सो फिडर लाइनको निर्माण कार्य थालिएको थियो । हरिसिद्धि–ठैवमा रहेका टेक्सटायल, राइस मिल, ग्रील उद्योग, पाउरोटी, अक्सिजन, अल्मुनियम, प्लाष्टिक, छापाखानालगायतका उद्योगहरूलाई नियमित विद्युत् आपूर्ति गर्ने उद्देश्यले फिडर लाइन निर्माण कार्य अगाडि बढाइएको थियो ।
आर्थिक वर्ष २०६५/६६ को बजेटमार्फत फिडर लाइन निमार्णका लागि ८३ लाख रुपैयाँ निकासा गरिएको थियो । सो रकममध्ये करीब ३३ लाख रुपैयाँमात्र खर्च भएको सङ्घले बताएको छ । विवादका कारण विनियोजन गरिएको सबै रकम खर्च हुन नसक्दा निर्माण कार्य पूरा हुन नसकेको सङ्घका सदस्य सुरेश वज्राचार्यले जानकारी दिए । ‘फिडर नभएका कारण दैनिक ८ घण्टाभन्दा बढी लोडशेडिङको मार उद्योगीहरूले खेपिरहेका छन्,’ उनले भने, ‘दैनिक ८ घण्टा लोडशेडिङ भए पनि फिडर लाइनबाट नियमित विद्युत् आपूर्ति हुने थियो ।’ उद्योगहरूलाई दीर्घकालीन लोडशेडिङको प्रतिकूल असरबाट बचाउन पनि फिडर लाइन निर्माण गर्नुपर्ने उनको तर्क छ । ‘रकम विनियोजन गरेको वर्ष पोल गाड्न गएका प्राधिकरणका कर्मचारीमाथि स्थानीय व्यक्तिले अवरोध उत्पन्न गरेपछि काम अगाडि बढ्न सकेन,’ प्राधिकरणका एक उच्च कर्मचारीले भने, ‘हाल रकम अभावका कारण लाइन निर्माणको काम रोकिएको छ ।’
ठैवका उद्योगहरूले प्रत्यक्ष रूपमा २ हजार जनालाई रोजगारी दिएका छन् । त्यहाँका कपडा उद्योगमा करीब २ अर्ब रुपैयाँ लगानी रहेको छ । नियमित विद्युत् आपूर्तिको व्यवस्था नहुँदा कामदारले अन्यन्त्र काम खोज्न थालेको गुनासो उद्योगीहरूको छ । महर्जनले भने, ‘राति साँझ काम गर्नुपरेकाले मजदूरले काम छाड्ने गरेका छन् ।’ ठैवका कपडा उद्योगमा ५० देखि ६० करोड लगानी बैङ्कको छ ।
नेपालमा अहिले सबैभन्दा बढी कपडा उद्योग वीरगञ्जमा रहेका छन् । कुल कपडा उद्योगमध्ये ४० प्रतिशत वीरगञ्ज, ३० प्रतिशत ठैव, २० प्रतिशत विराटनगर र बाँकी १० प्रतिशत भक्तपुर, लुभु र थानकोटमा रहेको सङ्घको भनाइ छ । ‘लोडशेडिङको अभावमा विदेशबाट आयात गर्ने कपडासँग नेपाली उद्योगीले प्रतिस्पर्धा गर्न सक्ने सम्भावना छैन,’ महर्जनले भने, ‘फिडर लाइन भएका वीरगञ्जका उद्योगसँग पनि ठैवका उद्योग प्रतिस्पर्धा गर्न सक्दैनन् ।’ जेनेरेटर सञ्चालन गर्दा लागत बढी पर्ने गरेको दुःखेसो उनीहरूको छ । नियमित विद्युत् आपूर्ति हुने उद्योगले सस्तोमा कपडा उत्पादन गर्ने भएकाले पनि ठैवका उद्योगहरू समस्यामा परेको बताइन्छ ।
विद्युत् सङ्कटका कारण टेक्सटायल उद्योगको उत्पादन क्षमता निरन्तर घटिरहेको छ । नेपालमा वार्षिक ३० देखि ४० करोड मिटर कपडा आवश्यक पर्छ । तर, नेपालमा वार्षिक जम्मा ४ करोड मिटर कपडा मात्र उत्पादन हुने गरेको छ । नेपाललाई आवश्यक पर्ने बाँकी कपडा भारत र चीनबाट आयात हुने गरेको सङ्घको भनाइ छ । नेपालका सबै कपडा उद्योग नियमित सञ्चालन हुने हो भने १० देखि १२ करोड मिटर कपडा उत्पादन गर्न सक्छन् । विद्युत् नियमित हुन नसक्दा कतिपय कपडा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् भने कतिपय बन्द भइसकेका छन् । हेटौंडा कपडा उद्योग, अन्नपूर्ण टेक्सटायल, अशोक टेक्सटायल, स्टार टेक्सटायल, गणपति टेक्सटायल, शाह उद्योग, जगदम्बा टेक्सटायल र सानो लगानीका करीब १ सय कपडा उद्योग बन्द भइसकेका छन् ।