काठमाडौं । आज (सोमवार) ६ कारोबार दिनपछि नेप्से परिसूचक बढेको छ । यो दिन नेप्से परिसूचक शून्य दशमलव ७४ प्रतिशत अर्थात १९ दशमलव ३० अंकले बढेको हो । २ हजार ६३९ दशमलव ६९ विन्दुमा पुगेको नेप्से आज २ हजार ६०५ दशमलव शून्य ३ विन्दुसम्म झरेको थियो । आज कारोबारको अन्तिममा २ हजार ६२८ दशमलव ३६ विन्दुमा नेप्से बन्द भएको हो ।
आज १८५ कम्पनीका धितोपत्रको मूल्य बढेको छ भने ६० कम्पनीको घटेको छ । आज दुई कम्पनीका शेयरको मूल्य भने स्थिर रहेको छ । बोटलर्स नेपाल बालाजु र राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य स्थिर रहेको हो । आज बोटलर्स नेपाल बालाजुको शेयरमूल्य प्रतिकित्ता १७ हजार ८०० रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य प्रतिकित्रा १४ हजार ५०० रुपैयाँ नै कायम भएको हो ।
आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य १० प्रतिशत बढेको छ भने सिन्धु विकास बैंकको ९ दशमलव ९९ प्रतिशत, ओम मेगाश्री फर्मास्युटिकल्सको ९ दशमलव ९९ प्रतिशत, तेह्रथुम पावरको ९ दशमलव ९८ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ९ दशमलव ७९ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ दशमलव ४६ प्रतिशत बढेको छ ।
आइतवार १० प्रतिशत बढेको विन नेपाल लघुवित्तको शेयरमूल्य सोमवार भने १० प्रतिशत घटेको छ । विन नेपाल लघुवित्तको शेयरमूल्य प्रतिकित्ता २७१ रुपैयाँ ५६ पैसाले घटेर अन्तिम मूल्य २ हजार ४४४ रुपैयाँ कायम भएको हो । सोमवार ७ अर्ब ३५ करोड ८८ लाख रुपैयाँभन्दा बढीको १ करोड ६२ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको हो । आइतवार ८ अर्ब ५० करोड ९२ लाख रुपैयाँभन्दा बढीको १ करोड ६९ लाख ७ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो ।
यो दिन राधी विद्युत् कम्पनीले कुल कारोबार रकममा सर्वाधिक हिस्सा ओगटेको छ । राधी विद्युत्को ५९ करोड ७६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । राधी विद्युत्को शेयरमूल्य आज ४ दशमलव ९२ प्रतिशत बढेर अन्तिम मूल्य ७२४ रुपैयाँ कायम भएको छ ।
आज होटल तथा पर्यटन समूहको परिसूचक १ दशमलव २४ प्रतिश घटेको छ भने बाँकी समूहको परिसूूचक भने बढेको छ । आज विकास बैंक समूहको सर्वाधिक १ दशमलव ८८ प्रतिशत परिसूचक बढेको छ भने बैंकिङ समूहको १ दशमलव १७ प्रतिशत बढेको छ । १ प्रतिशतभन्दा बढी परिसूचक आज निर्जीवन बीमा समूहको १ दशमलव १२ प्रतिशत बढेको छ ।
बजार बढेसँगै कुल बजार पूँजीकरण ३२ अर्ब ५२ करोड ४६ लाख रुपैयाँले बढेको छ । अघिल्लो कारोबार दिन ४३ खर्ब ४० अर्ब ४३ करोड ५९ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण सोमवार ४३ खर्ब ७२ अर्ब ९६ करोड रुपैयाँ कायम भएको हो ।