काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमवार कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । कम्पनीको सोमवार कायम अन्तिम शेयरमूल्य ५४८ रुपैयाँ ८७ पैसाको आधारमा नेप्सेले मूल्य समायोजन गरी प्रतिकित्ता ३२४ रुपैयाँ ४४ पैसा तोकेको हो ।
मंगलवार समायोजन मूल्यका आधारमा कम्पनीको शेयर कारोबार खुला हुनेछ । हकप्रद शेयर निष्कासनको मिति तय गर्न बाँकी रहेको कम्पनीले बुक क्लोज भने जेठ ६ गते गर्दैछ । बुक क्लोजको आधारमा नेप्सेले हकप्रद पछिको मूल्य तोकिदिएको हो । कम्पनीले हाल कायम चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको आधारमा सोही मूल्य बराबरको हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।