काठमाडौं । आधा दर्जन लघु बीमा कम्पनीले अहिले पूँजी बढाउन प्रारम्भिक शेयर निष्कासन (आईपीओ) को प्रक्रिया थालेका छन् । नेपालमा तीन जीवन र चार निर्जीवन गरी सात लघुबीमा कम्पनी सञ्चालनमा छन् । एउटाबाहेक अन्य ६ ओटा कम्पनीले आईपीओका लागि नेपाल बीमा प्राधिकरणबाट सैद्धान्तिक स्वीकृति पाएका छन् । यसमध्ये गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले पुस २१ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्दै छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट पनि स्वीकृति पाएपछि यसले आईपीओ जारी गर्न लागेको हो । अन्य पाँचओटाले विभिन्न मितिमा प्राधिकरणबाट आईपीओका लागि सैद्धान्तिक स्वीकृति पाएको अवस्था छ । उनीहरूले अब धितोपत्र बोर्डबाट स्वीकृति लिनुपर्ने हुन्छ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले सैद्धान्तिक स्वीकृति पाएका हुन् ।
सात लघुबीमा कम्पनीमध्ये अब ट्रष्ट माइक्रो इन्स्योरेन्सले मात्र आईपीओ निष्कासनका लागि प्राधिकरणबाट सैद्धान्तिक सहमति पाउन बाँकी छ । आईपीओ निष्कासन प्रक्रियामा जान लघुबीमा कम्पनीहरूलाई कारोबार सञ्चालनको १ वर्ष पूरा हुनुपर्ने व्यवस्था छ । बीमा ऐनमा भएको व्यवस्थाबमोजिम बीमकले बीमा व्यवसाय शुरू गरेको १ वर्ष पूरा भएका कम्पनीलाई आईपीओ निष्कासनका लागि सैद्धान्तिक सहमति प्रदान गरेको प्राधिकरणका उपनिर्देशक एवम् कानून विभाग प्रमुख साम्भराज लामिछानेले बताए ।
उनका अनुसार प्राधिकरणले आईपीओका लागि सैद्धान्तिक सहमति प्रदान गरेका कम्पनीहरूले आईपीओ निष्कासन प्रक्रिया अघि बढाएका छन् । लामिछानेका अनुसार पहिलो वार्षिक साधारणसभा सम्पन्न गरी प्राधिकरणबाट आईपीओ निष्कासनका लागि सैद्धान्तिक सहमति पाएका कम्पनीहरूले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गर्नुअघि नै सर्वसाधारणमा शेयर निष्कासन तथा बाँडफाँट गरी पूँजी चुक्ता गर्नुपर्ने हुन्छ ।
बीमाक्षेत्रका जीवन र निर्जीवन बीमा कम्पनीले कायम गर्नुपर्ने चुक्तापूँजी फरकफरक रहे पनि लघुबीमा क्षेत्रका जीवन र निर्जीवनतर्फका कम्पनीलाई भने समान ७५ करोड रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्नेछ । हाल सबै लघुबीमा कम्पनीको चुक्तापूँजी ५२ करोड ५० लाख रुपैयाँ छ । आईपीओपछि लघुबीमा कम्पनीहरूको चुक्तापूँजी ७५ करोड रुपैयाँ कायम हुनेछ । बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरणले लाइसेन्स प्रदान गरेकै समयमा ७० प्रतिशत संस्थापकबाट र ३० प्रतिशत सर्वसाधारणबाट पूँजी कायम गर्न कम्पनीहरूलाई निर्देशन दिएको थियो । लामिछानेका अनुसार ट्रष्ट माइक्रो इन्स्योरेन्स सञ्चालनको १ वर्ष पूरा हुन बाँकी रहेकाले सैद्धान्तिक सहमति नदिइएको हो ।
यो कम्पनी २०८० साल चैत ९ गतेदेखि सञ्चालनमा आएको हो । कारोबार सञ्चालनको १ वर्ष पूरा हुन बाँकी रहेको कम्पनीले २०८१ असार २२ गते सम्पन्न पहिलो वार्षिक साधारणसभामार्फत आईपीओ निष्कासनको प्रस्ताव पारित गरिसकेको छ ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले गत साउन २४ गते धितोपत्र बोर्डमा निवेदन दिएकोमा मङ्सिर ७ गते बोर्डबाट अनुमति प्राप्त गरेको हो । बोर्डको स्वीकृति प्राप्त गरी पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयरको प्रारम्भिक निष्कासन तथा बाँडफाँट गरिसकेको कम्पनीले सर्वसाधारणका लागि पुस २१ गतेदेखि निष्कासन गर्दै छ । नियामकको निर्देशनबमोजिम पूँजी बढाउन दबाबमा रहेका कम्पनीको सम्बन्धमा बोर्डले प्राथमिकताका साथ सहजीकरण गर्ने धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले बताए ।
‘रोकिएका सार्वजनिक निष्कासन प्रक्रिया अघि बढाउने काम भइरहेकाले नियामकीय निर्देशन पालना गर्न सार्वजनिक निष्कासनको स्वीकृति माग गर्ने कम्पनीलाई प्राथमिकतामा राखिनेछ,’ उनले आर्थिक अभियानसँग भने । लामो समय नेतृत्वविहीन अवस्थामा बोर्ड रहँदा सार्वजनिक निष्कासन प्रक्रिया प्रभावित हुँदै आएको थियो । गत महीना बोर्डमा सन्तोषनारायण श्रेष्ठ अध्यक्ष नियुक्त भएका छन् । ‘अबका दिनमा बोर्डले सार्वजनिक निष्कासन स्वीकृति प्रक्रिया यथाशीघ्र अघि बढाउनेछ,’ घिमिरेले भने ।