वीरगञ्ज। वीरगञ्जको एउटा व्यापारिक फर्मले आयातित मालसामानमा ३ लाख रुपैयाँ भन्सार राजस्व छल्न खोज्दा ७० लाख रुपैयाँभन्दा बढीको फन्दामा परेको तथ्य बाहिरिएको छ । आरएन इन्टरप्राइजेजले परिमाण छलेर लैजान खोजेको जीरा समातेर वीरगञ्जको एकीकृत जाँचचौकी (आईसीपी) भन्सारले शनिवार जरीवाना तिराएको हो ।
आईसीपी भन्सारका अनुसार गत वैशाख ३ गते सो व्यापारिक फर्मले भारतबाट आयात गरेको जीरा भित्त्याउन दुईओटा प्रज्ञापनपत्र भरेको थियो । तीमध्ये एउटामा उल्लेख गरिएको ३०० बोरामा ९ हजार किलो जीराको परिमाण मिलेको भए पनि अर्को प्रज्ञापनपत्रमा गडबडी भेटिएको हो ।
अर्को प्रज्ञापनपत्रमा ५४० बोरा घोषणा गरेकोमा ७०० बोरा जीरा फेला परेपछि कारबाही गरिएको आईसीपी भन्सारले बताएको छ । आरएनका एजेन्टले भरेको प्रज्ञापनपत्रमा ५४० बोरामा १६ हजार ८ सय किलो परिमाण उल्लेख गरिएको थियो । १४० बोरामा ४ हजार २ सय किलो बढी जीरा फेला परेको हो । जाँचपास गरी बाहिरिन लागेको गाडीमा घोषणाभन्दा बढी मालसामान भएको आशंकामा भन्सारका जाँचकीले गेटबाट फर्काएका थिए ।
वैशाख ४ गते भन्सारले खटाएका कर्मचारीले सो गाडीमा रहेको जीराको परिमाण पुन: जाँच गरेका थिए । पुन:परीक्षणमा आयातकर्ताले घोषणा गरेको भन्दा १४० बोरा बढी परिमाण भेटिएपछि भन्सारले जरीवाना तिराएको हो । भन्सारको पहेलो लेनमा जाँचपास भएको गाडीमा घोषणाभन्दा बढी परिमाण भेटिएपछि भन्सार ऐनको दफा ५७ अनुसार जरीवाना तिराइएको भन्सारका सूचना अधिकारी अमित तिवारीले बताए ।
भन्सारले आयात–निर्यातलाई छरितो बनाउन स्वचालित रूपमा हरियो, पहेँलो र रातो लेनमा जाँचपास गर्दै आएको छ । हरियो लेनमा राजस्व चुहावाटको सम्भावना नभएका वस्तु पर्ने भएकाले आयातकर्ताले पेश गरेको काजगातकै भरमा सामान भित्रिन्छ । पहेँलोमा चुहावटको मध्यम जोखिमका वस्तु पर्छन् । यसमा कागजातको जाँच हुन्छ । राजस्व चुहावटको उच्च जोखिममा रहेका रातो लेनमा कागजात र मालसामान दुवैको भैतिक रूपमै जाँच गरिने भन्सार अधिकारीहरू बताउँछन् ।
व्यापारीले परिमाण नै छलेर मालसामान भित्त्याउन थालेपछि पुन:परीक्षण तीव्र बनाइएको प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताए । ‘दैनिकजसो जाँचपास भएका गाडीमध्ये केहीलाई नमूनाको रुपमा लिएर यस्तो परीक्षण भइरहेको छ,’ उनले भने ।