काठमाडौं । आइतवार नेप्से परिसूचक १ दशमलव शून्य २ प्रतिशत बढेको छ । अघिल्लो कारोबार दिनभन्दा २६ दशमलव ५३ अंक बढेर नेप्से परिसूचक २ हजार ६२२ दशमलव २८ विन्दुमा पुगेको हो । यस दिन २ हजार ६२६ दशमलव २१ विन्दुमा पुगेको नेप्से २ हजार ५९४ दशमलव २३ विन्दुमा झरेको थियो ।
अघिल्ला तीन कारोबार दिन निरन्तर घटेको नेप्से आइतवार भने बढेको हो । आइतवारको कारोबारलाई लिएर बनेको मैनबत्ती विश्लेषणमा सानो टुप्पी भएको हरियो मैनबत्ती बनेको छ । यसले आगामी दिनमा बजार अझै बढ्ने संकेत गर्दछ ।
यस दिन १८५ कम्पनीको धितोपत्र मूल्य बढेको छ भने ६३ ओटा कम्पनीको धितोपत्र मूल्य घटेको छ । यो दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत बढेको छ । प्रतिकित्ता ९९ रुपैयाँ ५२ पैसाले बढेर कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ हजार ९५ रुपैयाँ ४० पैसा कायम भएको छ ।
बढेको बजारमा जोशी हाइड्रोपावरको शेयर मूल्य भने सर्वाधिक ५ दशमलव ५७ प्रतिशत घटेर अन्तिम मूल्य ३२७ रुपैयाँ ४७ पैसा कायम भएको छ । कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन ७ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको १ करोड ९६ लाख ५० हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा आइतवार ७ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको १ करोड ६६ लाख ४३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
कुल कारोबार रकममा साहस उर्जाको सर्वाधिक रकमको कारोबार भएको छ । साहस उर्जाको ५७ करोड ८६ लाख रुपैयाँभन्दा बढीको ९ लाख ७५ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको यस कम्पनीको शेयर मूल्य भने ५ दशमलव ३१ प्रतिशत बढेर अन्तिम मूल्य ५९५ रुपैयाँ ६ पैसा कायम भएको हो ।
यस दिन बैंकिङ समूहको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । यो समूहको परिसूचक सर्वाधिक २ प्रतिशत बढेको हो । यस दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक मात्र शून्य दशमलव ५६ प्रतिशत घटेको हो । बाँकी सबै समूहको परिसूचक बढेको छ ।
आइतवार कुल बजार पूँजीकरण ४४ अर्ब २१ करोड रुपैयाँभन्दा बढीले वृद्धि भएको छ । गत बिहीवार ४३ खर्ब २४ अर्ब ८८ करोड ८१ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण ४३ खर्ब ६९ अर्ब १० करोड ३९ लाख रुपैयाँ कायम भएको हो ।