जेठ २, काठमाडौं (अस)।
आज शुक्रवारदेखि ‘अन्तराल’, ‘खग्रास’, ‘माया दिउँझैं भो’ र ‘युज’ गरी एकसाथ चार नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । नयाँ पुस्ताका जीवनसाथीले निर्माण गरेको चलचित्र ‘अन्तराल’मा अभिनय गर्ने कलाकारहरू प्रायः रङ्गमञ्चबाट आएका छन् । ३४ जना कलाकारले अभिनय गरेको चलचित्रमा युवावर्गको हालको जीवनयापनको सङ्घर्षको कथा बुनिएको छ । ५१ लाख रुपैयाँमा बनेको चलचित्र काठमाडौंका सबै मल्टिप्लेक्स र बाहिरका ५० ओटाजति हलमा एकसाथ प्रदर्शन शुरू हुँदै छ ।
चलचित्रमा कमलमणि नेपाल, राजकुमार पुडासैनीलगायत रङ्गकर्मीको अभिनय हेर्न पाइन्छ । त्यस्तै, नेपाली चलचित्रमा स्थापित नाम शैलेष आचार्यले निर्देशन गरेको चलचित्र ‘खग्रास’मा पनि आरोहण गुरुकुलका सुनिल पोख्रेल, अनिल पोख्रेल, वसन्त भट्ट, सरस्वती चौधरीले अभिनय गरेका छन् । राजनीति विसङ्गतिलाई विषय बनाइएको चलचित्र नेपाल र अमेरिकमा छायाङ्कन गरिएको छ । ४० लाख रुपैयाँमा निर्मित चलचित्र देशभरिका करीब ३० ओटा हलमा एकसाथ प्रदर्शन हुँदै छ ।