रवीन्द्र गौतम/दोलखा
दोलखाको लाकुरीडाँडामा निर्माण गरिने अन्तरराष्ट्रियस्तरको चलचित्र नगरी गुरुयोजना निर्माण तथा अध्ययन १ महीना ढिला भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डसँग माग गरेको विस्तृत प्रस्तावपत्र पेश गर्न ढिलाइ भएका कारण गुरुयोजना निर्माण पछि परेको बताइएको छ ।
राष्ट्रिय योजना आयोगको कार्यतालिकाअनुसार हालसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुनुपर्ने थियो । सञ्चार मन्त्रालयले गत भदौ १९ गते चलानी नं ७८ मार्फत चलचित्र विकास बोर्डसँग माग गरेको प्रस्तावपत्रसहितको कागजात हालसम्म प्राप्त नभएको सूचना तथा सञ्चार मन्त्रालय नीति, योजना, अनुगमन तथा मूल्याङ्कन शाखाले जानकारी दिएको छ ।
दोलखा, लाकुरीडाँडा–८ र ९ स्थित डाङडुङे डाँडाक्षेत्रको ७६ दशमलव २५ हेक्टर क्षेत्रफलमा निर्माण हुने चलचित्र नगरीको गुरुयोजना निर्माण तथा अध्ययनका लागि चालू आर्थिक वर्ष २०७०/०७१ मा रू. २ करोड बजेट विनियोजन भएको छ । चलचित्र विकास बोर्ड स्रोतका अनुसार अध्यक्षलगायत केही सदस्य दोलखाबाट चलचित्र नगरी अन्यत्र सार्ने खेलमा लागेकाले सञ्चार मन्त्रालयमा प्रस्ताव पठाउन ढिलाइ गरिएको हो । ऐतिहासिक, पुरातात्विक, प्राकृतिक, धार्मिक सम्पदाले भरिपूर्ण दोलखा जिल्लामा निर्माण गर्न लागिएको फिल्म सिटी नेपालकै पहिलो हो । चलचित्र नगरी निर्माणका लागि लाकुरीडाँडा गाविसस्थित सेतीदेवी दादर सामुदायिक वनले ७६ दशमलव २५ हेक्टर जमीनको भोगाधिकार प्रदान गरिसकेको छ ।
काठमाडौंबाट करीब १ सय ९ किलोमिटर पूर्वमा रहेको डाङडुङे डाँडा समुद्री सहतबाट ३ हजार ४ सय मिटरको उचाइमा छ । डाँडाबाट काठमाडौंको स्वयम्भू, फूलचोकी, रोल्वालिङ हिमशृङ्खला, गौरीशङ्कर, जुगल, गणेश हिमालका साथै सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सोलुखुम्बु, रामेछाप तथा ओखलढुङ्गा जिल्लाको ६० प्रतिशत भूभाग दृश्यावलोकन गर्न सकिने बताइन्छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.