सुविधासम्पन्न सिनेमा हल क्यूएफएक्सले दशैंको अवसरमा चलचित्र हेर्न चाहने दर्शकको सुविधालाई दृष्टिगत गरी हल महानवमीसम्म खुला राख्ने भएको छ । क्यूएफएक्सका प्रमुख कार्यकारी अधिकृत रोशन अधिकारीका अनुसार विजयादशमीको एक दिन मात्र हल बन्द हुनेछ । दशैंको बेला दर्शक घट्ने तथा नयाँ चलचित्र आउने सम्भावना कम भए पनि क्यूएफएक्सले हल भने बन्द नगर्ने उनले बताए ।
कुमारी चलचित्र हल, सिभिल मल र जय नेपाल हलमा क्यूएफएक्स सञ्चालित छ । दशैंमा ग्रामिण भेग तथा जिल्ला सदरमुकामस्थित चलचित्र हलमा दर्शक सङ्ख्या उल्लेख्य बढे पनि काठमाडौं उपत्यकामा भने ह्वात्तै घट्छ । सबैजना चाडबाडका लागि उपत्यका छाड्ने दर्शक बढी हुने भएकाले पनि हलहरूले दर्शक आकर्षित गर्ने खालका कुनै अफर भने नल्याउने अधिकारी बताउँछन् ।
क्यूएफएक्सले पनि दशैंका अवसरमा कुनै अफर भने ल्याएको छैन । यतिबेला कुमारी हलमा ‘एलजीएम’, ‘फटा पोष्टर निकला हिरो’, ‘वार्निङ–३ डी’, र ‘प्राग’ प्रदर्शन भइरहेका छन् । उता, सिभिल मलमा पनि ती चलचित्रसँगै नेपाली चलचित्र ‘मौन’ प्रदर्शनमा छ । जय नेपाल हलमा भने ‘मौन’ प्रदर्शन भइरहेको छ । बिहीवारदेखि क्यूएफएक्स कुमारी हलमा फिल्म साउथ एसियाअन्तर्गत डकुमेण्ट्री तथा छोटा फिल्महरू प्रदर्शन हुँदै छन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.