नाट्य विधाको माध्यमबाट कलासंस्कृतिको विकास र संरक्षण गर्ने उद्देश्यले दोलखा सदरमुकाम चरिकोटमा २ दिने ‘राष्ट्रिय लोकनाट्य उत्सव’को आयोजना हुने भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा उत्सव यही असार २१ र २२ मा हुने भएको हो । उत्सवमा विभिन्न जातजातिको धार्मिक, सांस्कृतिक र रीतिरिवाज झल्किने नाटक समावेश हुने प्राज्ञ एवम् लोकनाटक विभाग प्रमुख तीर्थ थापाले जानकारी दिए ।
यसै साता बसेको उत्सवको तयारी बैठकमा प्राज्ञ थापा तथा वरिष्ठ कलाकार मदनदास श्रेष्ठले दोलखाको तामाङ र नेवारी, झापाबाट सन्थाल, सुनसरीबाट किराती, कैलालीबाट थारू, पाल्पाबाट वालुन समुदायको परम्परागत लोकनाटक प्रस्तुत गरिने जानकारी दिए । लोकनाट्य प्रस्तुतपछि लोपोन्मुख संस्कृतिको संरक्षणका लागि भावी योजना वनाउन सहयोग पुग्ने उनीहरूले बताए । कार्यक्रम सम्पन्न गर्न करीब १२ लाख खर्च हुने थापाले बताए । उनका अनुसार त्यसका लागि रू. ७ लाख ५० हजार रकम प्रतिष्ठानले बेहोर्ने र ३ लाखभन्दा बढी स्थानीयस्तरमा सहयोग सङ्कलन हुँदै छ । उत्सवका लागि जिविस दोलखाले रू.७५ हजार सहयोग गरेको छ ।
दोलखामा चलचित्र नगरी निर्माणको आयोजना अन्तिम चरण पुगेको उल्लेख गर्दै त्यसको प्रचारप्रसारका लागि समेत कार्यक्रम दोलखामा आयोजना गर्न लागिएको श्रेष्ठले बताए । दोलखाको लाकुरीडाँडा गाविसको डाङडुङे डाँडामा चलचित्र नगरी निर्माणको तयारी भइरहेको छ ।