काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ करोड १३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा यस आर्थिक वर्षमा करीब २४६ प्रतिशत बढी खुद नाफा गरेको हो । गत आर्थिक वर्षको यस अवधिसम्म कम्पनीको खुद नाफा १ करोड ७७ लाख रुपैयाँभन्दा बढी थियो ।
इम्पेयरमेन्ट चार्ज बापत्को रकम १ करोड ८६ लाख रुपैयाँभन्दा बढी फिर्ता आएकाले कम्पनीको खुद नाफामा उल्लेख्य वृद्धि देखिएको हो । गत आर्थिक वर्ष कम्पनीले इम्पेयरमेन्ट चार्जबापत्को ९५ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता पाएको थियो । तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा १ करोड ७८ लाख रुपैयाँभन्दा बढी छ ।
हाल कम्पनीको चुक्तापूँजी ३६ करोड ७१ लाख रुपैयाँभन्दा बढी छ भने जगेडा कोष रकम १५ करोड ५७ लाख रुपैयाँभन्दा बढी कायम छ ।
यस अवधिसम्म १ अर्ब ८२ करोड ४३ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ३ अर्ब १३ करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ ।
कर्जा प्रवाह भने ५ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी छ । गत आर्थिक वर्षमा कम्पनीको निष्क्रिय कर्जा ४ दशमलव ४४ प्रतिशत रहेकोमा यस आर्थिक वर्षमा घटेर ३ दशमलव ७० प्रतिशतमा झरेको छ । वार्षिक प्रतिशेयर आम्दानी २२ रुपैयाँ २७ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ २८ पैसा छ ।