काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आइतवार (आज) नेप्से परिसूचक १२.५३ अंक घटेर २ हजार ६४९ दशमलव ११ अंकमा झरेको छ ।
यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन गत बिहीवार ११ अर्ब ६५ करोडको कारोबार भएकोमा आज १० अर्ब २० करोडको कारोबार भएको छ ।
शेयर कारोबारको आधारमा आज नेप्सेमा लामो टुप्पी र छोटो पुच्छर र सानो शरीर भएको रातो मैनबत्ती आकृत्ति बनेको छ । यसले शुरुमा किन्ने चाप देखिए पनि पछि बेच्ने चापले दबाब दिएको दर्शाउँछ । साथै बजारमा उच्च अस्थिरता भएको पनि संकेत गर्छ ।
पछिल्लो समय नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्ति हुन नसक्दा लगानीकर्तामा अन्योल सिर्जना भइरहेको जानकार बताउँछन् ।
आज ८२ धितोपत्रको मूल्य बढेको छ भने १६४ को घटेको छ ।
यस दिन होटल तथा पर्यटन समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । उक्त समूहको सूचक सर्वाधिक ६.५ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंकको सूचक १.२७ प्रतिशत बढेको छ । त्यसैगरी, जीवन बीमा, निर्जीवन बीमा र व्यापारिक समूहका सूचक पनि बढेका छन् ।
यस दिन सर्वाधिक घट्नेमा वित्त समूहको सूचक छ । उक्त समूहको सूचक ३.७२ प्रतिशत घटेको छ । त्यसैगरी, बैंकिङ, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र अन्य समूहका सूचक घटेका छन् ।
आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समान १० प्रतिशतले बढेको छ । यसैगरी, हिमालयन हाइड्रोपावर र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य पनि समान ९.९९ प्रतिशतले वृद्धि भएको छ ।
यस दिन सिन्धु विकास बैंकको शेयर मूल्य ७.४५ प्रतिशतले घटेको छ ।
कारोबारका आधारमा राधि विद्युत कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।
भारत र पाकिस्तानका शेयर बजार पनि घटे
आज भारत र पाकिस्तानका शेयर बजार पनि घटेका छन् । दुवै देशबीच गत शनिवार साँझ युद्धविराम भए पनि शेयर बजार भने बढ्न नसकेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय सञ्चारमाध्यम ‘इकोनोमिक टाइम्स डट कम’का अनुसार आज भारतीय शेयर बजार सूचक सेन्स्याक्स १.०९ प्रतिशतले र निफ्टी १.१० प्रतिशतले घटेको छ । पाकिस्तानी सञ्चारमाध्यम ‘डन डट कम’का अनुसार त्यहाँको शेयर बजार ६.९३९ अंकले घटेको छ ।
गत बुधवारयता दुवै देशबीच द्वन्द्व शुरु भएको थियो । त्यसको चार दिनपछि युद्धविराम हुँदा दुवै देशमा खुसीयाली छाएको थियो ।