काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले असार १३ गतेदेखि निष्कासन गरेको सिटिजन्स सदाबहार योजनाको इकाई असार २७ गतेसम्म निष्कासनमा रहने भएको छ । छिटो अवधि असार १७ गतेभित्र माग बमोजिम आवेदन नपरेपछि योजना व्यवस्थापक क्यापिटलले ढिलो अवधि असार २७ गतेसम्म निष्कासन गर्न लागेको हो । ५० करोड रुपैयाँको आकार रहेको खुलामुखी प्रकृतिको यस योजना सञ्चालनका लागि योजना व्यवस्थापकले ५ करोड इकाई जारी गर्न लागेको हो ।
प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ५ करोड इकाईमध्ये बीज पूँजीबापत न्यूनतम ७५ लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेश्नललाई सुरक्षित राखिएको छ । यीबाहेक बाँकी न्यूनतम ४ करोड २५ लाख इकाई प्रथम चरणको निष्कासनमा ल्याइएको हो । योजनाको इकई निष्कासन तथा विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । यी इकाई खरीदका लागि विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण र्बैक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनसमेत आवेदनका लागि खुला रहनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।