काठमाडौं । दुई धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरू नेपाल धितोपत्र बोर्डको कारवाहीमा परेका छन् । बोर्डले ब्रोकर नम्बर १०१, एप्पल सेक्युरिटिज र ब्रोकर नम्बर ९३, बेनी सेक्युरिटिजलाई कारवाही गरेको हो । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (१) र (२) बमोजिम तोकिएको समयभित्र आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन बोर्डमा पेश नगरेको भन्दै बोर्डले यी दुई कम्पनीलाई कारवाही गर्ने निर्णय गरेको हो । असार १३ गतेको निर्णयबमोजिम यी दुई कम्पनीलाई पहिलो पटकका लागि ५ हजार रुपैयाँका दरले आर्थिक जरिवानासहित कारवाही गरिएको हो ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (२) बमोजिम आर्थिक जरिवाना गरिएको जानकारी बोर्डले दिएको छ । धितोपत्रसम्बन्धी ऐनमा हिसाब तथा विवरण पेश गर्नुपर्ने व्यवस्थामा धितोपत्र व्यवसायीले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र बोर्ड र नेप्सेमा आर्थिक वर्षको लेखापरीक्षण विवरण पेश गर्नुपर्ने हुन्छ । सो व्यवस्थाबमोजिम कार्य नगरेपछि दुई ब्रोकर कम्पनी कारवाहीमा परेका हुन् ।