काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा युनाईटेड इदी–मर्दी एण्ड आरबि हाईड्रोपावर लिमिटेडको ४ प्रतिशत बोनस शेयर मंगलवार सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस शेयरबापतको १ लाख ७७ हजार २४० कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो । कम्पनीले चैत ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर पारित गरेको थियो ।
कम्पनीले बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश प्रस्तावसमेत सोही सभाबाट पारित गरेको थियो । बोनसपछि कम्पनीको चुक्तापूँजी ४६ करोड ८ लाख २४ हजार रुपैयाँ कायम भएको छ । बुधवारदेखि कारोबारयोग्य हुने बोनस शेयर सम्बन्धित शेयरधनीहरूले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
यस कम्पनीले बोनसपछि कायम चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि कम्पनीले चैत ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ ।