काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले असार १८ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको छ ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरिसकेको कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारी पूँजीको ४९ प्रतिशतका दरले हुन आउने ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये पहिलो चरणमा ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित स्थानीय र ३ लाख ५४ हजार ५५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जेठ ६ गतेदेखि २० गतेसम्म निष्कासन गरी असार ५ गते बाँडफाँट गरिएको हो ।
पहिलो चरणको आईपीओ मागभन्दा बढी आवेदन परेकाले छिटो अवधिभित्र मात्र निष्कासन गरिएको हो । यीबाहेक बाँकी शेयरमध्ये ७० हजार ९१० कित्ता कर्मचारीहरूका लागि र १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरिसकिएको जानकारी कम्पनीले दिएको छ ।
सर्वसाधारणमा २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा आउन लागेको हो । सार्वजनिक निष्कासनमा आउने आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न पाउने व्यवस्था छ । निष्कासन मिति छिटोमा असार २२ गतेसम्मका लागि तोकिएको छ ।
सो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा असार ३२ गतेसम्म विक्री लम्बिने जानकारी कम्पनीले दिएको छ । आईपीओमा यसअघि मागभन्दा अधिक आवेदन पर्दै आएको अवस्थालाई लिएर अनुमान गर्दा कम्पनीको आईपीओ छिटो अवधि असार २२ गतेसम्म मात्र निष्कासनमा रहनेछ ।
आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले पूरा गर्नेछ । आवेदनका लागि भने विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । आईपीओ निष्कासनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तयि दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दै इक्रा एनपी इस्यूअर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको परिचय
नेपालमा रहेको अपार जलस्रोतको उपयोग गरी जलविद्युत आयोजनको निर्माणका लागि यो कम्पनी निजी क्षेत्रका उद्यमीहरू मिलेर २०७३ माघ २६ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेडको रुपमा दर्ता भएको थियो ।
आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरूसँगै सर्वसाधारणको सहभागिता विस्तार गर्ने उद्देश्यले पछि २०७९ जेठ २५ गते कम्पनी पब्लिक लिमिटेडमा परिणत भएको हो । यस कम्पनीमा २०५ जना संस्थापक सदस्यहरू रहेका छन् ।
कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका ३ मा रहेको छ भने जलविद्युत उत्पादन केन्द्र गोरखा जिल्लाको भार्चे गाउँपालिका ४ मा रहेको छ ।
कम्पनीले गोरखा जिल्लामा ४ दशमलव ५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला साना जलविद्युत आयोेजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादन तथा विक्री गरिरहेको छ ।
उक्त आयोजनाबाट कम्पनीले २०७९ फागुन १७ गतेदेखि व्यापारिक उत्पादन शुरु गरेको हो । यस आयोजना निर्माणको कुल लागत १ अर्ब ११ करोड ८२ लाख रुपैयाँभन्दा बढी छ । यस आयोजनाको विद्युत उत्पादन अनुमति पत्र २१११ पुस २८ गतेसम्म बहाल रहनेछ ।
पूँजी संरचना
अधिकृत पूँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँ रहेको कम्पनीको जारी पूँजी पनि सोही रकम बराबर रहेको छ । हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ४६ करोड ३६ लाख ४१ हजार ७०० रुपैयाँ छ । सर्वसाधारणका लागि छुट्याइएको सम्पूर्ण कित्ता शेयर बाँडफाँटपछि चुक्तापूँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँ कायम हुनेछ ।
आईपीओपछि कम्पनीमा संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । कम्पनीले बैंकबाट लिएको कर्जा रकम र कम्पनीले भुक्तानी गर्न बाँकी दायित्व रकम भुक्तानीका लागि आईपीओ निष्कासन गरेको जानकारी दिएको छ ।
वित्तीय अवस्था
गत आर्थिक वर्ष ०८०/८१ को अन्त्यसम्म यो कम्पनी १ करोड १९ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म ४ करोड १३ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म भने कम्पनी १ करोड २८ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । यस अवधिसम्म कम्पनीको चालू दायित्व रकम २ करोड १० लाख रुपैयाँभन्दा बढी छ । गत आर्थिक वर्षसम्मको वास्तविक वित्तीय विवरणअनुसार १ रुपैयाँ ५५ पैसा प्रतिशेयर आम्दानी रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ९७ रुपैयाँ ४३ पैसा रहेको छ ।
सञ्चालक समिति
यस कम्पनीमा सात जनाको सञ्चालक समिति रहने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम खगेन्द्र न्यौपानेको अध्यक्षतामा कम्पनीमा सात सदस्यीय सञ्चालक समिति रहेको हो ।
व्यवस्थापन संकायमा स्नातक गरेका अध्यक्ष न्यौपाने २०७५ पुस १७ गतेदेखि निरन्तर अध्यक्षका रूपमा रहेका छन् । उनीसँग कम्पनीको ५ लाख ८० हजार कित्ता शेयर छ । कम्पनीको सञ्चालकहरूमा कृष्ण प्रसाद घिमिरे, सरोज धिताल, राज कुमार गुरुङ, अनिता थापा (ढकाल), सुनिल श्रेष्ठ र उक्तम अधिकारी छन् । उत्तम अधिकारी भने स्वतन्त्र सञ्चालकका रूपमा रहेका हुन् । सञ्चालकहरू समेत २०७५ पुस १७ गतेदेखि निरन्तर सञ्चालकका रूपमा रहेका छन् ।
दोस्रो बजारमा पहिलो कारोबार मूल्य कति ?
विकास हाइड्रोपावरले प्राथमिक बजारमा लगानीकर्ताहरूका लागि प्रतिकित्ता १०० रुपैयाँमा आईपीओ जारी गरी त्यसको कारोबारका लागि धितोपत्र दोस्रो बजारमा सूचीकृत गराउनेछ । दोस्रो बजारमा सूचीकृतपछि पहिलो कारोबार मूल्य बजार सञ्चालकले तय गर्नेछ ।
हाल नेपालमा सञ्चालनमा रहेको एकमात्र धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा पहिलो कारोबार मूल्य तोक्ने गरेको छ ।
हालको व्यवस्थाबमोजिम कुनै पनि कम्पनीको आईपीओ सूचीकृतपछि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्य रेञ्ज पहिलो कारोबारका लागि तोक्ने गरिन्छ ।
यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ४३ पैसा रहेको छ । यस आधारमा दोस्रो बजारमा सूचीकृतपछि कम्पनीको पहिलो कारोबार मूल्य न्यूनतम प्रतिकित्ता ९७ रुपैयाँ ४३ पैसादेखि अधिकतम २९२ रुपैयाँ २९ पैसासम्मको मूल्य रेञ्ज नेप्सेले तोक्नेछ । पहिलो कारोबारपछिको मूल्य भने बजारमा लगानीकर्ताको माग र आपूर्तिका आधारमा निर्धारण हुनेछ ।